काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गरेबापत बुझाउनुपर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ। यो कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ।

उक्त सेवासँग सम्बन्धित सम्झौतापत्रमा महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।  

जरिवानाबापतको भुक्तानीका लागि सेवाग्राहीले www.connectips.com मा लगइन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्याबोर्डमा रहेको ‘सरकारी भुक्तानी’ भित्र ‘नेपाल ट्राफिक पुलिस’ छनोट गर्नुपर्ने हुन्छ। त्यसपछि भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ। यसरी गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सीधै जम्मा हुन्छ भने  ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ।

ट्राफिक जरिवानाको भुक्तानी अनलाइनबाट भएलगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यो सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक तथा वित्तीय संस्थाका मोबाइल र इन्टरनेट बैंकिङ एवं अन्य आबद्ध पीएसपी वा वालेटमार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ।   

कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध छन्। हाल यस प्रणालीमार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्र बैंकको परीक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोषलगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबार हुँदै आएका छन्।