काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। 

बजार आज २४.८३ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०४१.०६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७५ अंकले घटेर ३९४.३९ को विन्दुमा ओर्लेको छ। हिजोको तुलनामा कारोबार रकम बढेर पौने ३ अर्ब रुपैयाँको हाराहारी भएको छ। 

बजार जानकार मुक्ति अर्याल ट्रेडर हावी हुँदा बजारमा करेक्सन आएको बताउँछन्। ‘ट्रेडरहरुले खातामा भएको पुरानो सेयर बेचेर नाफा बुक गरेका हुन सक्छन्’, उनले भने। 

अहिले सबैतिर सकारात्मक नै रहेको अर्याल बताउँछन्। ‘त्यसैले बजार सकारात्मक नै हुनुपर्ने हो’, उनले भने, ‘४–१२ को सेटलमेन्ट अझै बाँकी रहेको जस्तो देखिन्छ। अब भदौ ८ पछि नै बजारको आगामी यात्रा तय हुन सक्छ।’

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे पनि आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिन्छन्। ‘यो नाफा बुक नै हुन सक्छ’, उनले भने, ‘अझै १–२ को कारोबारपछि मात्रै बजारको दिशा प्रस्ट हुन सक्छ।’

हाल बजारमा ९० प्रतिशत ट्रेडर रहेका कारण बजारमा छिटोछिटो तलमाथि भइरहेको घिमिरेको तर्क छ।  

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

आज जलविद्युत समूह सर्वाधिक ३.१८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह २.६८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.२५ प्रतिशत, व्यापार समूहमा १.७७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८७ प्रतिशत, वित्त समूहमा २.६२ प्रतिशत, निर्जीवन बीमा समूहमा १.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९ प्रतिशत, अन्य समूहमा ०.७ प्रतिशत, लघुवित्त समूहमा १.२७ प्रतिशत, जीवन बीमा समूहमा ०.९१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९ प्रतिशत र लगानी समूहमा १.५५ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२१ कम्पनीका ६४ लाख ६ हजार ७३८ कित्ता सेयर २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन रिडी पावरको सर्वाधिक ४० करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको ८ करोड ६८ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ५ करोड ८७ लाख रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ६१ लाख रुपैयाँ, अपी पावरको ५ करोड १९ लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ५ करोड १४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ६४ लाख रुपैयाँ, युनिभर्सल पावरको ४ करोड ५८ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ४९ लाख रुपैयाँ बढी कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज अपर हेवाखोला हाइड्रोपावरका सेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

यो दिन युनिलिभर नेपाल र दोर्दी खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।