– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिनमात्रै कारोबार भएको छ। जसमा दुई दिन बजार बढ्यो भने १ दिन घट्यो। 

अघिल्लो साता २१४९.३३ मा बन्द भएको बजार यो  साता २१७९.८१ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा २९.४२ अंकको बढोत्तरी भएको छ। यस्तो बढोत्तरी अघिल्लो साता साढे ५ अंकको मात्रै थियो। 

यो साताको ३ कारोबार दिनमा ११ अर्ब ५० करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता  ४ कारोबार दिनमा बजार २३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यस हिसाबले यो साता अघिल्लो साताको तुलनामा कारोबार घटेको छ। 

प्राविधिक पक्ष 

ट्रेन्ड लाइनका आधारमा

सेयर बजार तथा कमोडिटिज बजारलाई प्राविधिक रुपमा विभिन्न माध्यममार्फत विश्लेषण गर्न सकिन्छ। अन्तर्राष्ट्रिय बजारमा बजारलाई खासगरी इलिअट वेभ, प्राइस एक्सन, ट्रेन्ड लाइन र विभिन्न इन्डिकेटरमार्फत विश्लेषण गर्न सकिन्छ। 

यसअघिको बजार विश्लेषणमा हामीले हाम्रा पाठकलाई साप्ताहिक रुपमा इलिअट वेभमार्फत र  दैनिक रुपमा विभिन्न इन्डिकेटरबाट बजारको विश्लेषण प्रस्तुत गर्दै आएका छौँ। बजारले गति लिँदै गर्दा लगानीकर्तामा अहिलेको बजार बुल, बियर वा साइडवेज के हो भन्ने मुख्य जिज्ञासा रहेको पाइन्छ। हाम्रा पाठकको जिज्ञासालाई समाधान गर्ने उद्देश्यले आज हामीले बजारलाई ट्रेन्ड लाइनमार्फत बजारको भावी सम्भावित दिशाको विश्लेषण गरेका छौँ। 

ट्रेन्ड लाइन भनेको बजारले बनाएको उच्च विन्दु तथा न्यून विन्दुहरुलाई जोडेर बजारमा इन्ट्री र एक्जिटको विन्दु पत्ता लगाउने एक सहज उपाय हो। पछिल्लोपटक बजारले ११०० बाट बढेर लगभग ३२०० मा उच्च विन्दु बनाएको थियो। त्यसपछि बजारले अर्को उच्च विन्दु लगभग २९०० मा बनाएको देखिन्छ। यी दुई विन्दुलाई ट्रेन्ड लाइनमार्फत जोडेर  हेर्दा अर्को विन्दु लगभग २२३० को आसपासमा पर्न जान्छ। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा कालो एरो) 

यस हिसाबले यदि आगामी दिनमा बजार २२३० को विन्दुभन्दा माथि–माथि भोलुमसहित कारोबार भएर बन्द भएमा बजार ट्रेन्ड लाइनमार्फन बुलिस बनेको भन्न सकिन्छ। यसअघि पनि बजार १८०६ बाट फर्केर यही विन्दुबाट खसेर पुनः १८०० कै लाइनमा पुगेको थियो। जहाँनेर एउटा ‘नेक लाइन’ पनि बनेको छ। तर, बुलिस कन्फर्मेसनका लागि भने बजारमा २२०० भन्दा माथि–माथि भोलुमसहित कारोबार हुन भने आवश्यक देखिन्छ। 

फिवोनासीका आधारमा 

फिवोनासी एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि आगामी दिनमा बजार घटेमा २३ प्रतिशतको टेवामा २१६० को विन्दुसम्म, ३८ प्रतिशतको टेवामा २१०० को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २०४३ को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा २००० हुने देखिन्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमै बोलिगंर ब्यान्डमार्फत बजारलाई हेर्दा ब्यान्ड केही खुम्चिएको देखिन्छ। मूल्यरेखाहरु अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा बजार गएको अक्टोबर महिनामा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा नै हुँदै गएका छ। 

साप्ताहिक चार्टमै आरएसआई ६० को तहमा पुगेको छ। भोलुममार्फत हेर्दा बजार गएको तीन सातामा बजारमा विस्तारै एभरेज भोलुमभन्दा माथि देखिन्छ। 

निष्कर्ष

पछिल्लोपटक १८५० लाई आधार विन्दु बनाएर बढेको बजार इन्ट्राडेमा २२७५ सम्म पुग्यो तर २२०० माथि टिक्न सकेको छैन। यो साता बजारमा ३ कारोबारमा सूचक बढेको छ तर पनि अघिल्लो साताको तुलनामा बजारमा कारोबार बढ्न सकेको छैन। यस हिसाबले बजारमा लगातार बढेपछि यो साता केही सुस्ताएको देखिन्छ। अल्पकालमा बजार केही करेक्सन हुन सक्ने सम्भावाना पनि देखिन्छ। तर, दीर्घकालमा भने बजार बुलिस नै हो। 

बजारलाई प्राइस एक्सनमार्फत हेर्दा आगमी कारोबारमा २२३० भन्दा माथि–माथि भोलुमसहित कारोबार भएमा बजारले बुलिस यात्रा तय गरेको मान्न सकिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।