काठमाण्डौ । मौद्रिक नीतिमार्फत राष्ट्रबैंकले लिएको केही गलत नीति र खर्च गर्न नसक्ने सरकारी प्रवृतिको शिकार आम लगानीकर्ता हुनुपर्ने अवस्था सिर्जना भएको छ । सरकार र सरकारी निकायको अकर्मण्यताका कारण नेपाली बजारमा फेरि ब्याजदरको युद्ध सुरु भएको छ ।

ब्याजदरको वारमा यसपटक वाणिज्य बैंकहरु आक्रामक देखिएका छन् । 

नियामकीय व्यवस्थाअनुसारको दैनिक रुपमा अनिवार्य तरलता अनुपात कायम गर्न नै राष्ट्रबैंकको सुविधा उपयोग गर्नुपर्ने अवस्थामा पुगेका वाणिज्य बैंकमध्ये केहीले अनपेक्षित रुपमा ब्याजदर ह्वात्तै बढाएका छन् । यसले समग्र मुद्रा तथा पूँजीबजार तरङ्गित हुने अवस्था सिर्जना भएको छ । 

अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरुले बिहीबार असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदरको सूची सार्वजनिक गरेका छन् । नयाँ ब्याजदरमा कतिपय बैंकहरुले युद्ध नै छेड्ने नीति लिएको देखिन्छ । 

हालसम्म प्रकाशित सूचीअनुसार सनराइज बैंक ब्याजदर वृद्धिमा निकै आक्रामक र उत्ताउलो देखिएको छ । यो बैंकले मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्याइदिएको छ । कर्जाको ब्याजदर वृद्धिमा पनि सनराइज बैंक निकै आक्रामक देखिएको छ । 

सनराइज बैंकको पद्चाप पछ्याउँदै निक्षेपको ब्याजदर वृद्धिमा प्राइम कमर्सियल बैंक र एनएमबी बैंक पनि अगाडि देखिएका छन् । यी दुई बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत हाराहारीमै पुर्याएका छन् । 

मुद्दति निक्षेपको ब्याजदर निकै बढाउने आशंका गरिएका एनआइसी एशिया, कुमारी, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, सिभिल, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य लगायतका बैंक केही सम्हालिएका छन् । यी बैंकले मुद्दतिको ब्याजदर ९ प्रतिशतभन्दा तलै राखेका छन् । 

वाणिज्य बैंकहरुमध्ये सानिमा बैंक, ग्लोबल आइएमई, नवील, एनसीसी, सेञ्चुरी, हिमालयन, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट, लक्ष्मी बैंकले मुद्दतिको ब्याजदर ९ प्रतिशतभन्दा बढी पुर्याएका छन् । 

ठूला भनिएका बैंकहरु ब्याजदर वृद्धिमा उत्ताउलो देखिँदा साना विकास बैंकहरु बरु केही सम्हालिएका पाइएको छ । अधिकांश राष्ट्रियस्तरका विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ९.५० प्रतिशत कायम गरेका छन् । 

मुक्तिनाथ, गरिमा, सांग्रीला लगायतका विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ९.५० प्रतिशत कायम गरेका छन् । महालक्ष्मी विकास बैंक ब्याजदर वृद्धिको दौडमा केही अनुशासित देखिएको छ ।

वाणिज्य बैंकहरुमा धेरैले मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत माथि पुर्याएका छन् । यसले भविष्यमा समेत निक्षेप तान्नका लागि राम्रै ब्याजदर वार हुने देखाउँछ । आफ्नो निक्षेप जोगाउनका लागि समेत वाणिज्य बैंकहरुले भित्रभित्रै ब्याजदर बढेर अफर गर्नुपर्ने बाध्यता सिर्जना हुने निश्चित छ । 

केही वर्षअघि समेत ब्याजदर अनियन्त्रित गतिमा बढ्न थालेपछि राष्ट्रबैंकले हस्तक्षेप गर्नुपरेको थियो । केन्द्रीय बैंककै दवाबमा बैंकहरुले ब्याजदरमा भद्र सहमति समेत गरेका थिए । विकसित कतिपय घटनाक्रमले फेरि त्यही अवस्था आउनसक्ने देखिएको छ । 

रमाइलो त के भने वाणिज्य बैंक र विकास बैंकभन्दा ब्याजदर वृद्धिमा फाइनान्स कम्पनीहरु निकै अनुशासित देखिएका छन् । फाइनान्स कम्पनीहरुले २ दिनअघि नै ब्याजदर वृद्धिमा भद्र सहमति कायम गरेका थिए । उनीहरुले मुद्दति निक्षेपको ब्याजदर ८.५० प्रतिशतभन्दा बढी नबढाउने सहमति गरेका थिए । 

धेरैले वाणिज्य बैंक र विकास बैंकहरुमा पनि ब्याजदरको विषयमा सहमति बन्ने ठानेका थिए । तर, राष्ट्रबैंकले बैंकको आवश्यकता र अवस्थाका आधारमा ब्याजदर बढाउनसक्ने गरी ग्रिन सिग्नल दिएपछि सनराइज, एनएमबी लगायतका बैंक बढी नै आक्रामक देखिएका हुन्।

जुन जुन बैंकमा निक्षेपको हाहाकार छ, तिनै बैंक ब्याजदर वृद्धिमा अगाडि देखिएका छन् । सुविधाजनक अवस्थामा रहेका बैंकहरु केही सम्हालिएको अवस्थामा देखिएका छन् ।