– रेखा चन्द
काठमाण्डौ । बैंकिङ प्रणालीमा अहिले पनि पर्याप्त मात्रामा निक्षेप बढ्न सकेको छैन। लामो समयमदेखि तरलताको समस्या भोगिरहेको बैंक तथा वित्तीय संस्थाहरु अहिले पनि निक्षेपमा बढोत्तरी हुन नसक्दा लगानी योग्य रकमको अभाव भोगिरहेका हुन्।
सोही कारण अधिकांश वाणिज्य बैंकहरु कर्जा नसक्ने अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। केन्द्रीय बैंकका अनुसार पुस मसान्तसम्ममा एनसीसी बैंकलाई गाभेर एकीकृत कारोबार गरेको कुमारी बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा माथि उक्लिएको छ। बैंकको कुमारी बैंकको रेसियो ९०.७० प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।
बैंकहरुले सीडी रेसियो ९० प्रतिशतभित्र कायम गर्नुपर्ने केन्द्रीय बैंकको व्यवस्था छ। तर, कुमारीले राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गरिसकेकाले अब यो बैंकको कर्जा प्रवाह गर्ने स्पेस छैन।
यस्तै अन्य ९ बैंकहरु पनि कर्जा नसक्ने अवस्थामा पुगेका छन् भने केही बैंकको सीडी रेसियो कम हुँदा कर्जा दिन सक्ने क्षमतामा देखिएका छन्। केही समयदेखि उच्च ब्याजदरलगायतका कारण बैंकहरुमा ऋणको माग नहुँदा कर्जा प्रवाह हुन सकेको छैन।
राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि, नबिल, हिमालयन, लक्ष्मी, ग्लोबल आईएमई, सिटिजन्स, प्राइम कमर्सियल, सनराइज र एनएमबी बैंकलाई पनि कर्जा दिन सकस रहेको छ। यी बैंकहरुको सीडी रेसियो क्रमशः ८७.५ प्रतिशत, नबिलको ८९.३६ प्रतिशत, ८७.११ प्रतिशत, ८७.८७ प्रतिशत, ८९.४१ प्रतिशत, ८७.४७ प्रतिशत, ८८.८ प्रतिशत, ८७.२७ प्रतिशत र ८७.२४ प्रतिशत सीडी रेसियो छ।
पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८६.५३ प्रतिशत रहेको छ। जसमा सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७८.७३ प्रतिशत सीडी रेसियो छ। अन्यको बैंकहरुको तुलनामा यो बैंकसँग कर्जा प्रवाह गर्ने क्षमता बढी छ।
त्यसैगरी राष्ट्रिय राष्ट्रिय वाणिज्यको ८१.५९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाको ८६.१ प्रतिशत, नेपाल एसबिआईको ८४.०२ प्रतिशत, एभरेस्टको ८६.९ प्रतिशत, एनआईसी एसियाको ८४.११ प्रतिशत सीडी रेसियो हुँदा माछापुच्छ्रेको ८५.०२ प्रतिशत, सिद्धार्थको ८४.१६ प्रतिशत, प्रभुको ८५.८३ प्रतिशत, तत्कालिन सिभिलको ८५.६ प्रतिशत, सानीमा बैंकको ८३.०९ प्रतिशत रहेको छ। यी बैंकहरुलाई कर्जा प्रवाह गर्न केही सहज भए पनि महँगो ब्याजदर भएका कारण लगानी हुन सकेको छैन।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बुधबारसम्म प्रणालीमा झन्डै ४ अर्ब रुपैयाँ अधिक तरलता रहेकाले अहिलेको अवस्थामा तरलता धेरै टाइट छ भन्न नमिल्ने बताए। ‘हिजोसम्म प्रणालीमा ४ अर्ब ३४ करोड रुपैयाँ अधिक तरलताको रुपमा राष्ट्र बैंकमा बसेको छ, त्यसकारण अहिलेको अवस्थालाई बैंकिङ प्रणालीमा तरलता त्यति टाइट भन्न मिल्दैन’, उनले भने, ‘सीडी रेसियो केही लचक भए बैंकहरुले कर्जा प्रवाह गर्न सक्नेछन्।’
गत सोमबार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा बुधबार ३ अर्बले बढेर ५३ खर्ब ० अर्ब रुपैयाँ पुगेको छ। यस्तै वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले बढेर बुधबार ४७ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। गत सोमबार वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब ४० अर्ब रुपैयाँ थियो। गत सोमबार बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म पनि स्थिर रहेको छ।
36 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago