काठमाण्डौ । पुस महिना राजस्व संकलन गर्ने लक्ष्य पूरा हुने देखिएको छ।

पुस महिनामा ठूला करदाता कार्यालयले ४४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर ठूला करदाताबाट अनुमान गरिएभन्दा कम मात्रामा राजस्व संकलन भएपछि लक्ष्य पूरा हुन सक्ने देखिएको हो। 

हिजो बुधबार साँझसम्म ठूला करदाताले ३२ अर्ब अग्रिम कर बुझाएका छन्। हिजो अग्रिम कर बुझाउने अन्तिम दिन रहेको थियो। 

सबैभन्दा धेरै अग्रिम कर बुझाउँदै आएको एनसेलले ९५ करोड ८० लाख रुपैयाँमात्रै कर दाखिला गरेको छ। एनसेलभन्दा बढी नेपाल टेलिकमले १ अर्ब ८० करोड अग्रिम कर बुझाएको छ। 

यसैगरी नेपाल राष्ट्र बैंकले २ अर्ब ५० करोड रुपैयाँ नेपाल आयल निगमले १ अर्ब अग्रिम कर तिरेका छन्। राष्ट्रिय वाणिज्य बैंकले अग्रिम करका रुपमा ३१ करोड रुपैयाँ बुझाएको छ। 

कार्यालयले बुधबार साँझसम्म अन्य करदाताबाट थप ९ अर्ब राजस्व संकलन गरेको छ। 

कार्यालयमा हाल ६८१ करदाता समावेश छन्। कोरोना महामारीका कारण आर्थिक गतिविधि पूर्ण रुपमा सञ्चालनमा नआउँदा करदाताले न्यून मात्रामा आयकर दाखिला गरिरहेको कार्यालयले जनाएको छ।

कोरोना महामारीका कारण चालु आर्थिक वर्षमा अन्तःशुल्क राजस्व, मूल्य अभिवृद्धि कर र गैरकर संकलनमा प्रभावित भएको छ। आन्तरिक राजस्व विभागले पुस महिनामा ७२ अर्ब रुपैयाँ राज्य संकलनको लक्ष्य राखेकोमा बुधबार साँझसम्ममा ६० अर्ब रुपैयाँमात्र संकलन भएको छ। 

यसैगरी सरकारले लक्ष्यको करिब ४० प्रतिशतमात्र राजस्व संकलन गरेको छ। महालेखा कार्यालयका अनुसार मंगलबारसम्म ४ खर्ब २१ अर्ब रुपैयाँ राजस्वय संकलन गरेको छ।