काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको ट्रेड म्यानेजमेन्ट सिस्टमभित्रको एउटा कमजोरीको फाइदा उठाउँदै बजारमा तीव्र चलखेल गर्नेहरुको खेल अन्त हुने भएको छ । 

बजारको नियामक धितोपत्र बोर्डले नेप्सेको टिएमएसमा रहेको अल अर नन्(एओएन-AON) सुविधा हटाउन नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेसँगै ठूलो कित्ता सेयर राखेर खरीद तथा बिक्रीतर्फ कृत्रिम चाप सिर्जना गरी सूचीकृत कम्पनीको सेयरमूल्यमा चलखेल गर्नेहरुको बाटो बन्द हुने भएको हो । 

बोर्डका एक उच्च अधिकारीले टिएमएसमा रहेको अल अर नन्(कि त सबै देउ, नभए दिंदै नदेऊ)को सुविधा हट्ने जानकारी दिए । 

यो सुबिधाले सेयर बजारमा एकैपटक ठूलो परिमाणमा खरिद तथा बिक्री अर्डर राखेर लगानीकर्तालाई भ्रममा पार्ने काम भएको गुनासोका पटक-पटक आएको थियो । अनुसन्धानका क्रममा केही ठूला लगानीकर्ताले टिएमएसको यो सुविधाको दुरुपयोग गर्दै सेयरमूल्यमा मनलागी चलखेल गरेका भेटिएको थियो । 'यो फिचर्सअन्तर्गत खरिद तथा बिक्रीको सेयर अर्डर बराबर नै माग तथा आपूर्ति नभएसम्म कारोबार गर्न मिल्दैन थियो ।' बोर्डका ती उच्च अधिकारीले बिजशालासँग भने-'यस्तो हुँदा मार्केट डेप्थमा अप्राकृतिक अर्डर बस्ने र सर्बसाधारण झुक्किन्थे । अब भने गलत नियत राखेर कसैले पनि अर्डर राख्नसक्ने छैन ।'

उनकाअनुसार आइतबारदेखि नै यो सुविधा हट्नेछ । 

पछिल्लो समय ठूला लगानीकर्ताहरुले एओएनभित्र गएर खरीद तथा बिक्रीतर्फ एकैपटक ठूलो परिमाणको सेयर कित्ता राख्ने गरेका थिए । उदाहरणका लागि कसैले कुनै कम्पनीको सेयर २०१ रुपैयाँमा किन्ने भन्दै १ लाख कित्ता बाई अर्डरमा राखिदिन्थ्यो । त्यति नै मूल्यमा सेल अर्डरतर्फ कुल १ लाख सेयर जम्मा नभई उसको कारोबार हुँदैन थियो। 

यस्तै, कुनै कम्पनीको सेयर २०१ रुपैयाँमा बिक्री गर्ने भन्दै कसैले १ लाख कित्ता सेल अर्डरमा राखिदिन्थ्यो । खरीदतर्फ पनि २०१ रुपैयाँमै १ लाख कित्तासम्मको अर्डर नआउञ्जेल टुक्रा-टुक्रामा कारोबार गर्न नमिल्ने यो फिचर्सको सुविधा थियो । यसरी कुनै कम्पनीको मूल्य बढाउन चाहनेले आप्राकृतिक रुपमा एओएन प्रयोग गरी ठूलो कित्ता बाई अर्डरतर्फ पोस्ट गरेर खरीद चाप देखाउने र मूल्य घटाउनु परे ठूलो कित्ता सेल अर्डरमा राखेर बिक्री चाप बढाउने अभ्यास हुँदै आएको थियो । 

पछिल्लो समय गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सेयरमूल्य पनि यही सुविधाको दुरुपयोग गरेर माथि पुर्याइएको अनुसन्धानको क्रममा देखिएपछि यो सुविधालाई नै बन्द गर्ने निश्कर्षमा बोर्ड पुगेको हो । 

अब के हुन्छ ? 
यो सुविधा हटेसँगै अब भने ठूला लगानीकर्ताले पनि सर्वसाधारणले झै कारोबार गर्नुपर्नेछ । अब कसैले १ लाख कित्ता बाई अर्डरमा राख्यो र उसले अर्डर गरेको मूल्यमा ५०० कित्ता कसैले बिक्री गर्दैछ भने त्यति नै कित्ता समेत अब तुरुन्तै कारोबार हुनेछ । 

यस्तै, कसैले १ लाख कित्ता सेल अर्डरमा राख्यो र कसैले ५०० कित्ता सोही मूल्यसँग मिल्ने गरी बाई अर्डर राख्यो भने त्यसको पनि तत्कालै कारोबार हुनेछ । अर्थात पहिलाको एकैपटक कारोबार हुने व्यवस्था हटी मूल्य म्याचिङ भएपछि अब टुक्रा टुक्रामा पनि कारोबार हुनेछ । 

'यो फिचर्स ठूलाले मात्र चलाउँथे र चलखेल गर्थे ।' बोर्डका ती अधिकारीले भने-'सानालाई यो सुविधाको विषयमा थाहा थिएन वा मतलबै थिएन ।'

ब्रोकर एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले एओएन हटाउने व्यवस्थालाई राम्रो काम भनेका छन् । यसमा सेल अर्डरमा मात्रै राखेर बाई साइडमा हटाउँदा अझ राम्रो हुन उनको तर्क छ । 'यसले चलखेल रोक्छ ।' रानाभाटले भने-'अर्को फाइदा भनेको  १० कित्ता भन्दा तल पनि कारोबार गर्न मिल्ने हुनु पर्यो अथवा १० भन्दा तलको कित्ता कारोबार गर्दा बाँकी कित्ता रहन भएन । यसो भएमा यो अझै राम्रो हुने थियो ।'