काठमाण्डौ । नेपालकै इतिहासमा अमेरिकी डलरको भाउले मंगलबार दोस्रो उच्च विनिमय दरको रेकर्ड बनाएको छ। 

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११८.५४ रुपैयाँ र बिक्रीदर ११९.१४ रुपैयाँ कायम भएको हो। नेपालमा डलरको विनिमय दर यो अहिलेसम्मकै दोस्रो उच्च हो। 

यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.७३ र बिक्रीदर प्रतिडलर ११९.३३ रुपैयाँ कायम भएको थियो। यो विनिमय दर नै अहिलेसम्मको उच्च हो। 

आज डलरको भाउ ८३ पैसाले बढेको हो। डलरको विनिमय दर सोमबार प्रतिडलर खरिददर ११७.७१ रुपैयाँ र बिक्रीदर ११८.३१ रुपैयाँ रहेको थियो। सोमबार डलरको भाउ आइतबारको तुलनामा २७ पैसाले घटेको थियो। 

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेपछि विश्व अर्थतन्त्रमा व्यापक असर परेको छ। अमेरिकाले पनि आफ्नो देशमा आपतकालीन अवस्था घोषणा गरिसकेको छ। यसले गर्दा पनि डलरको भाउमा गिरावट आउन थालेको अर्थविद्हरु बताउँछन्।