काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य पुस महिनाकै उच्च विन्दूमा पुगेको छ । डलर कमजोर हुँदै जाँदा तथा कच्चा तेलको मूल्यमा बढोत्तरी भइरहँदा नेपाल भित्रिने सुन महङ्गिन थालेको हो । अर्कोतर्फ उत्तरकोरिया र अमेरिकाबीचको बढ्दो तनावले समेत सुनको भाउ बढ्न थालेको जानकार बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २० गते प्रति तोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन पुस २१ गते शुक्रबार तोलामा ४ सय रुपैयाँ बढेको छ । यो दिनको सुन भाउ प्रति तोला ५६ हजार २०० तोकिएको छ । 

पुस महिनाको सुरुवातमा सुनको मूल्य प्रतितोला ५४ हजार ३ सय रुपैयाँ थियो । पुस १९ गते सुन प्रतितोला ५६००० रुपैयाँ पुुगेको थियो । यसरी पुसमा मात्रै सुनको भाउ प्रतितोलामा १९०० रुपैयाँले वृद्धि भइसकेको छ ।  

चाँदीको मूल्य भने पुस १६ गतेदेखि स्थिर छ । चाँदी प्रति तोला ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।

बजार विज्ञहरुले विभिन्न कारण दिंदै सुनको भाउ प्रति तोला ६० हजार रुपैयाँसम्म पुुग्न सक्ने प्रक्षेपण गरिरहेका छन् ।

अन्तराष्टिय बजारमा सुनको भाउ प्रति औंस १३२२.३० डलर पुगिसकेको छ । अघिल्लो दिनको भन्दा सुनको भाउमा ५.३० डलरले बढोत्तरी भएको हो । बढ्ने क्रम जारी छ । 

यसकारण बढ्नसक्छ भाउ
विज्ञहरुका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बढोत्तरी हुने अवस्था देखिन्छ । यसले अन्य कमोडिटीसँगै सुनको मूल्य समेत बढाउन सहयोग गर्नेछ । 

यस्तै, नेपालसहितको सेयरबजार दिनहुँ महंगो बन्दै गएको छ । विश्वभरमै सेयर बजारमा लगानी जोखिमपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा सुरक्षित लगानीका लागि व्यापारीहरुले सुनको खरिदारी बढाउन सक्नेछन् । सुनमा लगानी बढ्नुु भनेको यसको मागमा तीव्र उछाल आउनुु हो, जसले गर्दा सुनको मूल्य उच्च विन्दूमा पुुग्न सक्नेछ । 

अर्कोतर्फ, उत्तरकोरिया र मध्यपूर्वका देशहरुबीच राजनीतिक तनाव बढिरहेको छ । यहीकारण आगामी वर्ष लगानीका लागि सुरक्षित स्वर्ग मानिने सुनको माग ह्वात्तै बढ्नसक्छ र लगानीकर्ता यसतर्फ आकर्षित बन्न सक्नेछन् । 

यस्तै, आगामी फेब्रुअरीमा चीनको नयाँ वर्षको उत्सव आउनेछ । यो अवसरमा चीनमा सुनको खरिदारी ह्वात्तै बढ्नेछ । चीन विश्वकै सबैभन्दा ठूलो सुनको आयातकर्ता देश हो । यसकारण यहाँ खपत बढेसँगै सुनको मूल्यमा उछाल आउनसक्नेछ । 

यस्तै, अमेरिकी डलर पछिल्लो कालमा कमजोर बनिरहेको छ । अमेरिकी डलरको मूल्य घटेसँगै अन्य करेन्सीको प्रयोगकर्ताका लागि सुन आकर्षक विकल्प बनिरहेको छ । यस्तै, रुपैयाँमा मजबुती घरेलु सुन खरीदकर्ताका लागि सुखद कुरा हो । विज्ञहरुले अमेरिकामा महंगी बढ्नसक्ने र यसले डलरलाई अझ कमजोर बनाइदिने दाबी गर्छन् । यस्तो अवस्था आयो भने सुनमा लगानी अझ बढ्नेछ, यसले भाउ अझ धेरै माथि पुुग्न सक्छ ।