काठमाण्डौ । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १२४.६८ रुपैयाँ कायम गरेको छ जुन हालसम्मकै उच्च हो। यसअघि गत जेठ ६ मा डलर भाउ १२४.६७ रुपैयाँ पुगेको थियो। 

पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ। 

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो। यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ। 

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा सकारात्मक प्रभाव पर्छ। रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ।