काठमाण्डौ । नेपालकै इतिहासमा अमेरिकी डलरको भाउ शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्र खस्किएको बेला डलर विनिमय दरले उचाइ चुमेको हो। डरल बलियो बन्दा नेपाली रुपैयाँ झनै कमजोर बन्दै गएको छ। 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रतिडलर खरिददर ११९.६८ र बिक्रीदर १२०.२८ काय भएको छ। डलरको विनिमय दर बिहीबारको तुलनामा शुक्रबार एकैदिन १.१७ रुपैयाँले बढेको हो। यो विनिमय दर नेपालको इतिहासमा हालसम्मकै उच्च पनि हो।

यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.७३ र बिक्रीदर प्रतिडलर ११९.३३ रुपैयाँ कायम भएको थियो। त्यसपछि गत मंगलबार प्रतिडलर खरिददर ११८.५४ रुपैयाँ र बिक्रीदर ११९.१४ रुपैयाँ कायम भएको थियो। 

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेका कारण पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ।

डलरको भाउ बढ्नेबित्तिकै विदेशी सामानहरू नेपालीका लागि महँगो हुन जाने भएकाले यसको असर प्रत्यक्ष रुपमा नेपाली अर्थतन्त्रमा देखिने अर्थविद्हरु बताउँछन्।