काठमाण्डौ । डलरको तुलनामा विश्वका प्रमुख मुद्राहरु कमजोर हुँदै जानुले विश्व अर्थतन्त्रमा समस्या थपिन थालेको छ। 

डलर बलियो हुँदै जानुले मात्र नभई अमेरिकामा ब्याजदर बढ्नु पनि धेरै देशको अर्थतन्त्रका लागि पनि नराम्रो खबर हो। तर, अहिले विश्व अर्थतन्त्रले सामना गरिरहेका चुनौती डलर वा अमेरिकी ब्याजदरमा भएको वृद्धिले मात्र होइन। यो पनि सत्य हो कि यसले आगोमा घ्यू थप्ने काम भने गरिरहेको छ। 

युक्रेनमा रुसको आक्रमणले सिर्जना गरेको अनिश्चितताको वातावरण र विश्वभरका दैनिक उपभोग्य वस्तुको भाउ रेकर्ड स्तरमा रहेको अवस्थाबाट पनि यसको अनुमान लगाउन सकिन्छ।

वैश्विक अर्थव्यवस्था 

डलरको भाउ बढेका कारण विश्वका विभिन्न भागमा आर्थिक गतिविधि सुस्ताएको विज्ञहरुले बताएका छन्।

मेक्सिकोका अर्थशास्त्र र वित्तका प्रोफेसर एडवर्डो कार्बजल भन्छन्, ‘डलर बलियो हुँदै जानुले आर्थिक वृद्धिलाई असर गरिरहेको छ किनकि यो यस्तो समयमा भइरहेको छ जब मुद्रास्फीति चरम सीमामा छ र यो उच्च मुद्रास्फीति उच्च ब्याज दरहरुद्वारा सामना गर्नुपर्छ।’

प्रोफेसर एडवर्डोको विचारमा डलरको मूल्यले अमेरिकामा मात्र नभई विश्वभर ऋण लिन महँगो बनाएको छ। यसको अर्थ देश, कम्पनी र आमजनतालाई ऋण लिनु झनै महँगो पर्दा आर्थिक गतिविधि सुस्त हुन्छ र पहिलेदेखि नै संघर्षरत अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गाह्रो हुन्छ।

आयात अझै महँगो हुने

डलरको भाउ बढ्नुको दोस्रो प्रभाव आयातित सामानको मूल्यमा पर्ने वित्तीय परामर्श फर्म एस एन्ड पी ग्लोबल रेटिंग्सका वरिष्ठ अर्थशास्त्री एलिजा ओलिभरोस–रोजेन बताउँछन्। ‘यसले आयातीत सामान महँगो बनाउँछ। यसले मुद्रास्फीति बढाउँछ’, उनले भने, ‘अर्कोतर्फ डलरमा आफ्नो ऋण तिर्न पर्ने देशहरुका लागि यी भुक्तानी महँगो हुनेछन्। यसले खर्च गर्न कम पैसा भएका देशहरुमा वित्तीय दबाब बढाउनेछ।’

कम वित्तीय बजेटले कोरोना महामारीका कारण अर्थतन्त्रलाई पुनः ट्रयाकमा ल्याउन सरकारलाई झन् झन्झट झेल्नुपर्नेछ। उनीहरुलाई सामाजिक कार्यक्रमहरु गर्न बजेट अवरोध हुनेछ। यो मद्दत धेरै देशमा धेरै मानिसलाई आवश्यक छ। उच्च मुद्रास्फीति दरसँग सामना गर्न सक्षम नहुने देशहरु पनि छन्।

डलरको भाउ बढ्नुले मानिसहरुले कम खर्च गर्नेछन् र अमेरिका बाहिर लगानी पनि कम हुनेछ। यसले विश्वभरका वित्तीय बजारमा अस्थिरता बढाउनेछ। यस्तो अवस्थामा आगामी महिनाहरुमा विश्वभरका देशको अर्थतन्त्रका लागि अवस्था खासै राम्रो देखिँदैन।

डलर अझै कति बलियो हुनेछ ?

ब्लुमबर्ग डलर स्पट इन्डेक्सका अनुसार गत वर्ष विश्वका १० शक्तिशाली मुद्राको तुलनामा डलर १२ प्रतिशतले बढेको थियो। तर, यो वर्ष अहिलेसम्म डलरको भाउ ७ प्रतिशतले मात्रै बढेको छ। ब्लुमबर्ग डलर स्पट इन्डेक्स डलरको प्रयोग र प्रभाव मापन गर्न प्रयोग गरिन्छ।

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रणमा राख्न ब्याजदर बढाउने घोषणा गरेको बेला यस्तो भएको हो। यो वृद्धि आम्दानीकर्ताबाट बढी कर लाग्ने गरी लागू गरिएको हो। कम्तीमा यो वर्ष अमेरिकामा ब्याजदर वृद्धि हुने क्रम जारी रहने बजारको अनुमान छ। 

अर्कोतर्फ आर्थिक अनिश्चितताको वातावरणमा लगानीकर्ताले आफ्नो पुँजी सुरक्षित राख्न डलर किन्ने क्रम जारी छ।

विश्वका अन्य विकसित अर्थतन्त्रका लागि ठूलो चुनौतीको अवस्था सिर्जना भएको छ। युरो, स्विस फ्रैंक र पाउन्ड स्टर्लिङजस्ता मुद्रा हालैका दिनहरुमा कमजोर भएका छन्।

विकासशील अर्थतन्त्रका चुनौतीहरु के–के छन् ?

ल्याटिन अमेरिकादेखि भारतजस्ता उदीयमान अर्थतन्त्र भएका देशहरुमा पनि यस्तै भइरहेको छ। तिनीहरुले आफ्नो अवमूल्यन हुँदै गएको मुद्रालाई सम्हाल्न ब्याजदर बढाउनुपर्छ। भारतले पनि रेपो दर बढाउने घोषणा गरेको छ।

२०२१ यता अर्जेन्टिना, चिली र कोलम्बियाजस्ता देशको मुद्राको क्रयशक्ति २७ प्रतिशतले घटेको छ। तर, ब्राजिल राम्रो स्थितिमा छ। सोही अवधिमा यसको मुद्रा ३.७ प्रतिशतले बढेको छ।

मुद्रास्फीति नियन्त्रणमा सफलता मिलेमा मात्रै यो बिग्रँदै गएको अवस्थालाई सम्हाल्न सकिने विज्ञहरु बताउँछन्। यस्तो अवस्थामा ब्याजदर बढाउने क्रम जारी रहनेछ। यदि यसो भयो भने विश्वका धेरै देशको अर्थतन्त्र ट्रयाकमा फर्किन लामो समय लाग्नेछ।

युरोप र अमेरिका मन्दीको चपेटामा पर्न सक्ने र चीन पनि मन्दीको चपेटामा पर्न सक्ने तथा कर्जा महँगो रहने अन्तर्राष्ट्रिय संस्थाहरुको अनुमान छ। –बीबीसीबाट भावानुवादित