काठमाण्डौ । वर्षौदेखि हृदयेश त्रिपाठीले जित हासिल गरिरहेको र उनको जीवन नै बितेको क्षेत्रमा उम्मेद्वारी दिएर उनैलाई हराउँदै प्रत्यक्षमा चुनाव जित्नु उद्योगपति विनोद चौधरीका लागि ढुङ्गाको चिउरा चपाउनुजस्तै कठीन थियो । तर, जोखिमहरुमै खेल्ने बानी परेका उनले नेपाली कांग्रेसका सीमित प्रभावशाली नेताहरुबीच पहिला नै घोषणा गरिसकेका थिए–‘मलाई एकदमै नयाँ ठाउँ र पार्टीले जित्ने सम्भावना नभएको ठाउँमै भए पनि प्रत्यक्ष प्रणालीतर्फको टिकट दिनुहोस् । म जितेर देखाउँछु ।’ 

विनोद चौधरीलाई राजनीतिमा आउनबाट रोक्न सक्रिय पार्टीभित्रै एकथरि नेताहरुका लागि यो एउटा राम्रो अवसर पनि थियो । त्यस्ताको योजना चौधरीलाई भरसक जित्नै नसक्ने कुनै अप्ठ्यारो क्षेत्रको टिकट दिने र हराएर राजनीतिको बाटो नै बन्द गरिदिने थियो ।

यही योजनाका साथ हृदयेश त्रिपाठीको प्रभावशाली क्षेत्र नवलपरासीमा चौधरीलाई प्रत्यक्षतर्फको टिकट दिइयो । कांग्रेसका एक प्रभावशाली नेताले बिजशालासँग भने–‘उनलाई त्यहाँको टिकट दिंदा जित्ने गुञ्जायस नै थिएन । विनोद चौधरी हारिहाल्छन् भनेर सबैले सो क्षेत्र जिम्मा लगाएका थिए ।’ 

चौधरीलाई हराउनैका लागि एमालेले सूर्य चिन्ह छाडेर फरक चुनावचिन्हसहित उठेका हृदयेश त्रिपाठीलाई समर्थन गर्दै आफ्नो उम्मेद्वार नै उठाएन । यो सबै सेटिङ भइरहँदा विनोद चौधरी भने आफूले टिकट पाएको क्षेत्रका जनताको घर–घर पुगिरहेका थिए । धरातलीय यथार्थतालाई बुझ्दै, मतदातासँग घूलमिल हुँदै चुनावी अभियान सञ्चालन गरेका उनले कांग्रेसकै कतिपय नेताहरुको अनुमानविपरीत निकै राम्रो मतअन्तरले हृदयेश त्रिपाठीलाई पछार्दै संघीय संसद सदस्यमा शानदार जित हासिल गरे । 

प्रत्यक्षतर्र्फको चुनावमा उम्मेद्वारी दिएर संघीय सांसद भएपछि अब विनोद चौधरीले कांग्रेस नेतृत्वमा सरकार गठन भएपछिको अवस्थामा कुनै प्रभावशाली मन्त्रालयको जिम्मा लिने गरी लविङ सुरु गरेका छन्।

प्रत्यक्षतर्फ सांसद जितेमा चौधरी कुनै मन्त्रालयको जिम्मा पाउने स्वभाविक दाबेदार र हकदार ठान्ने कांग्रेस नेताहरुका अनुसार कांग्रेस नेतृत्वको सरकार बनेमा त्यहाँ विनोद चौधरीले पनि महत्वपूर्ण जिम्मेवारी पाउने निश्चित रहेको बताउँछन् । 

उसो भए देशका एक मात्र डलर अर्बपति विनोद चौधरी के अब अर्थमन्त्री बन्दैछन् ? वा, उद्योगमन्त्री पो हो कि ? कुन मन्त्रालयमा उनको मन गएको होला ? 

सरकार गठनको सामान्य गृहकार्यहरु भइरहँदा नेताहरुबाट आएका अनुमान, कांग्रेसका उच्च स्रोतहरुले दिएका सूचनाहरुका आधारमा विनोद चौधरी अब गठन हुने सरकारमा मन्त्री बन्ने लगभग पक्का झै देखिन्छ । तर, बजारमा हल्ला भएजस्तो अब कांग्रेस नेतृत्वमा सरकार बनेमा त्यसमा चौधरीले अर्थ वा उद्योग मन्त्रालयको जिम्मेवारी पाउनेछैनन् । चौधरी स्वयम् पनि अर्थ वा उद्योगभन्दा अरु नै मन्त्रालय दिनुपर्ने लविङमा छन् । 

स्रोतका अनुसार कांग्रेस नेतृत्वमा सरकार बनेको खण्डमा अब बन्ने सरकारको परराष्ट्रमन्त्री विनोद चौधरी हुनसक्ने प्रवल सम्भावना छ । 

‘अन्तराष्ट्रिय क्षेत्रमा राम्रो सम्बन्ध र नेटवर्क भएका नेपाली नेतामध्येमा भेषबहादुर थापापछि विनोद चौधरीको नाम आउँछ । उहाँकोजस्तो नेटवर्क अहिले सांसद जितेका कसैसँग छैन ।’ कांग्रेसनिकट उच्च स्रोतले भन्यो–‘उहाँलाई परराष्ट्र मन्त्रालय जिम्मा लगाउँदा सबैभन्दा उत्तम हुन्छ भन्ने बुझाई कांग्रेस सभापति शेरबहादुर देउवाको पनि देखिन्छ । मलाई लाग्छ, चौधरीजी स्वयम् पनि सायद यस्तै अवसरको प्रतिक्षामा हुनुहुन्छ ।’ 

विनोद चौधरीलाई परराष्ट्र मन्त्रालय दिइएको खण्डमा अर्थ वा गृहसहित उपप्रधानमन्त्रीको रुपमा गगनकुमार थापालाई ल्याउने सम्भावना रहेको स्रोत दाबी गर्छ । 

कांग्रेसका महामन्त्री तथा युवा नेता विश्वप्रकाश शर्मा भने यसपटक कमजोर मन्त्रालयसहित सरकारमा आउनसक्ने सम्भावना रहेको छ । 

बाँकी मन्त्रालयको बाँडफाँड अब बन्ने सरकारको स्वरुप, सत्ता साझेदार दलहरुको माग तथा सम्झौता लगायतमा निर्भर हुने देखिन्छ ।