काठमाण्डौ । निजी क्षेत्रको इन्टरनेट तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल इन्टरनेट सेवा प्रवाह गरी सबैभन्दा बढी आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ । 

सरकारी तथ्यांकले इन्टरनेट सेवा प्रवाहबाट हुने आम्दानीमा समेत एनसेलले आफ्ना प्रतिस्पर्धीलाई उछिने देखिएको हो । 

नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा एनसेलले डाटा सेवाबाट मात्रै ८.०३ अर्ब आम्दानी गर्ने सफलता प्राप्त गरेको छ । नेपाल टेलिकमले यो सेवाबाट ४.७ अर्ब मात्र आम्दानी गरेको छ । 

दूरसंचार सेवा प्रदायकहरुको कुल आयमा अहिले पनि सबैभन्दा बढी योगदान भ्वाइस सेवाको रहँदै आएको छ । तर प्रत्येक वर्ष डाटा सेवाका ग्राहकहरुको संख्या बढिरहेको छ र यही बमोजिम कम्पनीका डाटा सेवाबाट हुने आयमा पनि वृद्घि भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ । प्राधिकरणको प्रतिवेदनअनुसार गत आवमा एनसेलले भ्वाइस सेवाबाट ४७.३ अर्ब आय गरेको थियो भने नेपाल टेलिकमले ३४.८७ अर्ब आम्दानी गरेको थियो । 

प्राधिकरणको तथ्याङ्क अनुसार गत आबको अन्तसम्ममा एनसेलका ५८ लाख ५५ बजार डाटा सेवातर्फका ग्राहक थिए भने नेपाल टेलिकमका विभिन्न डाटा सेवा ७६ लाख २ हजार ग्राहकले लिएका थिए । यसरी हेर्दा गत आर्थिक वर्षमा नेपालमा १ करोड ३७ लाख जनाले डाटा सेवा लिएका छन् । टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक गरी चारदर्जन बढी कम्पनीहरुले देशमा इन्टरनेट सेवा प्रवाह गरिरहेका छन् । 

बढ्दो डाटा सेवाको प्रयोगका कारण अबको केही वर्षमा डाटा र भ्वाइस सेवाको आय बराबरी हुने अनुमान गरिएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले एक अन्र्तवार्तामा बताएका थिए . डाटा सेवाको वृद्धिका लागि एनसेलले आफ्नो थ्रिजी नेटवर्कमा विस्तार तथा सुुधार गर्दै कभरेज बढाएको छ भने इन्टरनेटको शुल्क पनि घटाउँदै लगेको छ । 

एनसेलले झण्डै ३ महिना अघि ‘इन्टरनेट सबैका लागि’ भन्ने नाराका साथ डाटा सेवामा पहुँच अभिवृद्धि गर्न शुुल्कमा कटौती गर्दै नयाँ प्याकहरु ल्याएको थियो । यो योजना अन्तर्गत ग्राहकले करसहित जम्मा ७ पैसा प्रति एमबिसम्मको सस्तो मूूल्यमा ईन्टरनेट सेवा प्रयोग गर्ने अवसर पाइरहेका छन् । 

एनसेलको नयाँ योजनाअन्र्तगत ग्राहकले नियमित प्याकको तुलनामा डे प्याकमा आधा मूूल्यमा र नाइट प्याकमा २५ प्रतिशत मूूल्यमै ईन्टरनेट चलाउन सक्छन् । विगतमा अन्र्तराष्ट्रिय बजारको दाँजोमा नेपालमा इन्टरनेट सेवा महंगो भएकोले नेपालीको पहुुँच कम रहेको थियो । अहिले भने स्थिति फेरिंदै आएको छ ।

डाटा सेवामा पहुुँच बढेका कारण ग्राहकहरुलाई विश्वका कुुनै पनि कुुनामा रहेका आफन्त, इष्टमित्र र साथीभाईसँग सजिलै सम्पर्कमा रहन, सामाजिक सञ्जालमा जोडिन, देश विदेशका समाचार तथा जानकारीहरु लिन सहज भएको छ । डाटा सेवा भ्वाइसको तुुलनामा थोरै ग्राहकले लिएका कारणले गर्दा यो सेवाको माग अझ बढ्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

नेपाल टेलिकमले पनि ग्राहकको माग अनुुसार विभिन्न डाटा प्याकहरु ल्याएको छ । टेलिकमले डायलअप, जिएसएमए, सिडिएमए, एडिएसएल अनि वाइमाक्स प्रविधिमा आधारित लगायत विभिन्न इन्टरनेट सेवाहरु प्रदान गर्दै आएको छ भने एनसेलले जिएसएम प्रविधिमा आधारित वायरलेस मोवाइल इन्टरनेट सेवा मात्र प्रदान गर्दै आएको छ ।

प्राधिकरणका अनुुसार, प्रतिस्पर्धाले गर्दा डाटा सेवाको शुुल्क प्रत्येक वर्ष घटिरहेको छ । सरकारले लिएको ब्रोडब्याण्ड विकासको नीति र पूर्व पश्चिम पश्चिम अप्टिकल फाइबर प्रोजेक्टले गर्दा आउने वर्षहरुमा अझै व्यापक रुपमा यो सेवाको शुुल्क र पहुँच बढ्ने आशा गरिएको छ ।