काठमाण्डौ । कोरोना भाइरसको संक्रमण फैलिइरहेको बेला धेरै मानिसहरुले इम्युनिटी पावर बढाउनलाई प्रयोग गर्ने विभिन्न खाद्यवस्तुमध्ये मह समेत महत्वपूर्ण रहेको छ । विभिन्न मल्टीनेशन कम्पनीदेखि भारतीय कम्पनी, स्वदेशी कम्पनी लगायतले समेत बजारमा मह बिक्री गर्ने गर्छन् । तर, विश्वचर्चित कम्पनीहरुबाट उत्पादित महमा चिनीको सिरपको उच्च मिसावट पाइएपछि उपभोक्तामाथि निकै ठूलो ठगी भइरहेको खुलासा भएको छ । 

यो खुलासा नेपालको कुनै नियामक वा बजार नियन्त्रणको जिम्मेवारी पाएको निकायले गरेको होइन । भारतको सेन्टर फर साइन्स एण्ड इन्भारोमेन्ट(सीएसई)ले यस्तो खुलासा गर्दै उपभोक्तालाई सचेत हुन र सरकारलाई समेत कडा रुपमा बजार अनुगमन गर्न सुझाव दिएको हो।

सिएसईका महानिर्देशक सुनिता नारायणले इकोनोमिक टाइम्ससँग कुरा गर्दै सानादेखि ठूला कम्पनीहरुले भारतीय बजारमा बिक्रीका लागि पठाएका सबै महमा अत्यधिक मात्रामा चिनीको सिरपको मिसावट भएको जाँचको क्रममा पत्ता लागेको बताएकी छिन् । 

यही संस्थाले सन् २००३ देखि २००६ को अवधिमा सफ्ट डिंकमा कीटनाशक पदार्थको मिसावट भएको पत्ता लगाएको थियो । 

मल्टीनेशन कम्पनी र भारतीय कम्पनीले समेत नेपालमा भारतीय बजारमा पठाउनेभन्दा कम गुणस्तरका उत्पादन पठाउने भएकोले नेपालमा बिक्री हुने महमा त झनै धेरै चिनीको मिसावट भएको सहजै अनुमान गर्न सकिन्छ । 

सुनिताले महमा चिनीको सिरपको मिसावट उपभोक्ताको स्वास्थ्यमाथिको गम्भीर धोका रहेको बताएकी छिन् । मानिसहरु अहिले कोभिड १९ भाइरसविरुद्ध लडिरहेका छन्, तर यही बेला इम्युनिटी पावर बढाउन बढी भन्दा बढी उपभोग हुने महमै यो हदसम्मको मिसावट हुनुलाई उनले गम्भीर अवस्था भनेकी छिन् । 

उनले भारतबाट नेपाल, बंगलादेश, भूटान लगायतका मुलुकमा समेत यस्ता उत्पादन जाने गरेको भन्दै सम्बन्धित सरकारहरुले समेत गम्भीर बन्नुपर्नेमा जोड दिएकी छिन् । 

मानिसको शरीरमा चिनी आवश्यकताभन्दा बढी गयो भने त्यसले स्वास्थ्यमा निकै गम्भीर समस्या निम्त्याउने गर्दछ । यसको अर्थ अहिले बजारमा पाइने महले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सिएसईले जनाएको छ । 

सिएसईले भारत र आसपासका देशमा बिक्री हुने गरेको महको नमूनाहरु संकलन गरेर भारत र जर्मनस्थित प्रयोगशालामा परीक्षण गर्दा यस्तो अवस्थाको खुलासा भएको हो । 

समाचारमा भनिएअनुसार सीएसआईले गरेको यो गम्भीर अनुसन्धानबाट भारतका सबै प्रमुख ब्राण्डका महमा उच्च मिसावट रहेको पुष्टि हुन्छ । 

रिपोर्टका अनुसार ७७ प्रतिशत नमूनाको परीक्षण गर्दा चीनको उच्च मिसावट भएको पाइएको छ । 

अन्तराष्टिय स्तरमा स्वीकार्य न्यूक्लियर म्याग्नेटिक रेजोनेन्स स्पेक्टोस्कोपी(एनएमआर) परीक्षणमा १३ ब्राण्डमध्ये ३ वटा ब्राण्ड मात्र पास भए । 

महमा एन्टीमाइक्रोबियल र एन्टी इन्फ्लेमेटरी गुणसहित उच्च प्रतिरक्षा बनाउने क्षमता हुन्छ । तर, मिसावटका कारण अहिले हामी मह भनेर चिनी खाइरहेका छौं भन्ने कुरा यो जाँच रिपोर्टले पुष्टि गर्छ । यस्तो मह खाँदा मोटापन वा अत्यधिक वजनको समस्या निम्तिन्छ । 

सिएसईका फूड रिसर्चरले भारतीय बजारमा बिक्री हुने १३ प्रकारका शीर्ष तथा साना ब्राण्डका मह छनौट गरेका थिए । यी ब्राण्डका नमूनाहरुको सबैभन्दा पहिला गुजरातको राष्टिय डेयरी विकास बोर्ड(एनडीडीबी)स्थित सेन्टर फर एनालिसिस एण्ड लर्निंग इन लाइभस्टक एण्ड फूड(सीएएलएफ)मा जाँच गरियो । लगभग सबै ब्राण्ड शुद्धताको परीक्षणमा पास भए, केही साना ब्राण्ड भने यहाँ पनि फेल भए । ती छोटा ब्राण्डका महमा सी३ र सी४ चिनीको मिसावट पाइयो, यो चिनी चामलबाट बन्छ । तर, जब यिनै ब्राण्डलाई एनएमआर परीक्षणमा लगियो, तब लगभग सबै ब्राण्डका नमूना शुद्धता परीक्षणमा फेल भए । एनएमआर परीक्षण विश्वस्तरमा मोडिफाई सुगर सिरप जाँच्नका लागि प्रयोग गरिन्छ । १३ नमूनामा मात्र ३ नमूना पास भए । यो परीक्षण जर्मनीको प्रयोगशालामा भएको थियो।

सिएसईका फूड सेफ्टी एण्ड टक्सिन टिमका कार्यक्रम निर्देशक अमित खुरानाले भनेका छन् कि परीक्षणको क्रममा जो पाइयो, त्यो आश्चर्यजनक थियो । यसले मिसावटको व्यापार कुन हदसम्म बढेको छ भन्ने देखाउँछ, यस्तो मिसावट जसको विषयमा पत्ता लगाउन भारतमा समेत सकिन्न । उनका अनुसार महमा मिसाउने सुगर सिरप यस्तरी विकास गरेको पाइएको छ कि जसलाई पत्ता लगाउन अत्याधुनिक ल्याबमा मात्र संभव छ । 

नाम चलेका ब्राण्ड नै फेल
महका प्रमुख ब्राण्डहरु जस्तैः डाबर, पतञ्जली, वैद्यनाथ, झण्डू, हितकारी र एपिस हिमालय जस्ता सबै एनएमआर परीक्षणमा फेल भए । नेपालमा डाबरको हनी धेरै नै बिक्री गर्छ । पतञ्जलीको मह समेत पछिल्लो समय उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । तर, यी दुवै ब्राण्ड महको नाममा चिनीको सिरप मात्र रहेको देखिएको छ । 

तर, अक्टोबारबाट भने भारत सरकारले त्यहाँबाट निर्यात हुने महको एनएमआर परीक्षण अनिवार्य गरिदिएको समाचारमा उल्लेख छ । यसबाट भारत सरकार पहिलादेखि नै त्यहाँ उत्पादन हुने महमा चिनीको उच्च मिसावट छ भन्ने कुराको जानकार थियो भन्ने बुझिने समाचारमा उल्लेख छ । 

गत वर्ष नै भारतको खाद्य सुरक्षा एवम् मानक प्राधिकरण(एफएसएसएआई)ले भनेको थियो कि पछिल्लो समय देशमा गोल्डेन सिरप, इन्वर्ट सुगर सिरप र राइस सिरपको आयात बढिरहेको छ । उसले यी सबै सिरपहरु महमा मिसावट गर्न ल्याइने गरिएको दाबी गरेको थियो ।