काठमाण्डौ । कोरोना महामारीका कारण हिजोआज मोबाइल बैंकिङको प्रयोग गर्नेको संख्या ह्वात्तै बढेको छ। किनमेलदेखि लिएर अधिकांश भुक्तानीको माध्यममा मोबाइल बैंकिङले सहजता ल्याएको छ। तर आफूले प्रयोग गर्ने नेटवर्क कत्तिको सुरक्षित छ भन्ने कुरा हेक्का राख्नु जरुरी भइसकेको छ। 

आमउपभोक्ता भने मोबाइल नेटवर्कमा डेटा महँगो पर्ने भएर सार्वजनिक स्थलमा पाइने फ्री वाईफाई वा असुरक्षित नेटवर्क प्रयोग गरिरहेका भेटिन्छन्। अहिले विभिन्न सार्वजनिकस्थलदेखि रेस्टुराँहरुमा ईएसपी तथा आईएसपीहरुले फ्री वाईफाई सुविधा उपलब्ध गराइरहेका छन्। 

यही विषयलाई ध्यानमा राखेर राष्ट्रिय वाणिज्य बैंकले फ्री वाईफाई वा असुरक्षित नेटवर्कबाट मोबाइल वा अनलाइन बैंकिङ सेवा प्रयोग नगर्न आग्रह गरेको छ। 

बैंकले सुरक्षित नेटवर्कबाट मात्रै डिजिटल बैंकिङ सेवा उपयोग गर्न पनि अनुरोध गरेको छ। फ्री वाईफाई र असुरक्षित नेटवर्कबाट डिजिटल बैंकिङ सेवा उपयोग गर्दा प्रयोगकर्ताको डेटा चोरी वा ह्याक हुन सक्ने भन्दै बैंकले सचेत पनि गराएको छ।