काठमाण्डौ । हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। 

काठमाण्डौको होटेल हिमालयमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूका बारेमा छलफल भएको थियो। कार्यक्रममा वक्ताहरूले सरकारले तयार पार्ने पोलिसी तथा मास्टरप्लानअनुसार कार्यान्वयनमा जोड दिँदै अघि बढ्नुपर्ने बताए। 

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री गणेश शाहले अब सरकारी र निजी क्षेत्रको सहकार्यमा डिजिटल वल्र्डका लागि तयार हुनुपर्ने बताए। कोभिड १९ का कारण सरकारले वैकल्पिक शिक्षा सिकाइ कार्यक्रम ल्याएको भए पनि अब यसलाई शिक्षा रूपान्तरणका रूपमा नै अघि बढाउनुपर्ने उनले बताए। 

कार्यक्रमका विशेष अतिथि प्राडा.सुवर्ण शाक्यले इन्फ्रास्ट्रक्चरको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए। सरकारले ग्रामीण क्षेत्रसम्म पूर्वाधारको विकास गर्दै आवश्यक कन्टेन्टको लागि निजी क्षेत्रसँग सहकार्य गरी बढ्नुपर्ने शाक्यको भनाइ थियो। 

कार्यक्रममा ‘रिइमाजेनिङ डिजिटल एजुकेशन : पोलिसी एन्ड प्लानिङ’ विषयमा पहिलो प्यानल डिस्कसन सञ्चालन भएको थियो भने ‘फ्युचर अफ डिजिटल एजुकेसन’ विषयमा दोस्रो तथा अन्तिम प्यानल डिस्कसन सञ्चालन भएको थियो। पहिलो प्यानल सेसनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव आदेश खड्काले सरकारले सन् २०२० देखि २०३० सम्मको रोडम्याप बनाएर शिक्षालाई रूपान्तरण गर्ने अभियानमा अघि बढिरहेको बताए। 

यसैगरी पाठ्यक्रम विकास केद्रका निर्देशक गणेश भट्टराईले समयको आवश्यकताअनुसार कन्टेन्ट सामग्री परिमार्जित र व्यावहारिक बनाउनै जानुपर्ने धारणा राखे। 

यसैगरी नमोबुद्ध नगरपालिकाका शिक्षा विभाग प्रमुख जनार्दन रिजालले स्थानीय निकायमा कनेक्टिभिटी, कन्टेन्ट र सचेतनाको कमीले गर्दा पनि डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन नसकेको धारणा राखे। 

प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खुल्ला विश्वविद्यालयका प्रोग्राम कोअर्डिनेटर डा. भोजराज घिमिरेले नेपालमा विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारको स्पष्ट योजना र कार्यान्वयन आवश्यक रहेको बताए। प्यानलमा चाँदबाघ स्कुलकी प्रिन्सिपल निरा प्रधान र माइक्रोसफ्ट नेपालका दिपेन्द्र वज्राचार्यले पनि आफ्नो विचार व्यक्त गरेका थिए। 

त्यस्तै दोस्रो प्यानल डिस्कसनमा वक्ताका रूपमा बुढानिलकण्ठ स्कूलका प्रिन्सिपल होमनाथ आचार्य, फ्युज मेशिन्सका दक्षिण एशिया निर्देशक पराग श्रेष्ठ, कारखानाका सीईओ पवित्र गौतम, ओरियन्ट कलेज वसुन्धाराकी लेक्चर प्राप्ति थापा र एन प्याब्सनका सचिव सुवास न्यौपाने सहभागी भएका थिए। यस सेसनलाई सोसल चेन्ज मेकरकी प्रोडक्ट म्यानेजर इभा ज्ञवालीले सञ्चालन गरेकी थिइन्। 

फ्युचर अफ डिजिटल एजुकेशन, कोभिड १९ अघि र पछि शीर्षकमा भएको प्यानल डिस्कसनमा कोभिड १९ ले गर्दा रूपान्तरण गर्न खोजेको डिजिटल शिक्षालाई अब हाइब्रिड मोडलमा प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। डिजिटल नेपाल फ्रेमवर्कमा पनि समावेश गरिएको डिजिटल शिक्षालाई उच्च प्राथमिकताको साथ अघि बढाउन सके नेपालले यो क्षेत्रमा डिजिटल रूपान्तरण गर्न सक्ने वक्ताहरूको भनाइ थियो। 

निमा एकेडेमीको आयोजना तथा लिभिङ विथ आइसिटी र सोचवेयरको सहआयोजनामा डिजिटल लर्निङ डेको अवसरमा कार्यक्रम आयोजना गरिएको  थियो। कार्यक्रम निमा एजुकेसन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा शुरू भएको थियो। 

कार्यक्रमको इन एशोशिएसन पार्टनरमा नेपाल दूरसञ्चार प्राधिकरण र जेनस क्लाउड एकेडेमी रहेका थिए। कार्यक्रमको सपोर्ट पार्टनरमा कारखाना, डिजिटल पेमेन्ट पार्टनरमा कनेक्ट आइपीएस, इन्टरनेट पार्टनरमा भायानेट, कम्युनिटी पार्टनरमा सीएसआईटी एशोशिएसन नेपाल, एलइडी पार्टनरमा पिक्सेल टच, एसएमएस पार्टनरमा स्प्यारो एसएमएस, इनर्जी पार्टनरमा लुमिनस र आर्मट्रेड रहेका थिए।

सबै विद्यार्थीका लागि नवीन डिजिटल शिक्षा र पहुँचको वकालत गर्न फेब्रुअरी, २०१२ देखि डिजिटल लर्निङ दिवस विश्वव्यापी रूपमा मनाउन सुरु गरिएको छ। यो दिन शिक्षामा डिजिटल प्रविधिको विशेष प्रयोग गरी कक्षाकोठामा सिकाउने सुरुआतको हिसाबले नवीन र अग्रगामी सोचलाई उजागर गर्ने दिन हो। 

निमा एजुकेशन फाउन्डेशनले दुई वर्षअघि (२०१९/२०७५) डिजिटल सिकाइ दिवस शिक्षाविद्, विकासकर्ता, डिजिटल पूर्वाधारका सरोकारवाला र आविष्कारकहरूका लागि एक महत्वपूर्ण प्लाटफर्म उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरेको हो। शैक्षिक भविष्यलाई डिजिटल प्रविधिसँग जोड्न, विचारलाई साझा गर्न र नवीन डिजिटल सिकाइमा जागरुकता फैलाउन गरिएको प्रयासलाई डिजिटल लर्निङ डेको रूपमा लिइएको कार्यक्रम संयोजक नेहा जोशीले बताइन्।