काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा १०६.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत १० करोड ९८ लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ३६ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा २३ करोड ९३ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा ५ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार १२.७० प्रतिशतले बढेर १ अर्ब ५४ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ९६ करोड १५ लाख रुपैयाँको थियो।

संस्थाको निष्क्रिय कर्जा घटेर ०.६५ प्रतिशतमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको निष्क्रिय कर्जा १.२५ प्रतिशतमा रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७८.८१ रुपैयाँ रहेको छ। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.७७ गुणा रहेको छ।