– प्रकाश न्यौपाने

काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दै गहिरहेको छ। 

सीडीएससीको तथ्यांक हेर्ने हो भने शुक्रबार बिहानसम्म डिम्याट खाता खोल्नेको संख्या झन्डै ५५ लाख र मेरो सेयर लिनेको संख्या पौने ४६ लाखको हाराहारीमा पुगेको छ। अहिलेसम्म डिम्याट खाता खोल्नेको कुल संख्या ५४ लाख ८४ हजार २७३ र मेरो सेयर लिनेको संख्या ४५ लाख ७२ हजार ५६८ पुगेको छ। 

अहिले आईपीओ भर्दादेखि दोस्रो बजारमा कारोबार गर्दासम्म डिम्याट र मेरो सेयर अनिवार्यजस्तै भइसकेको छ। बजारमा लगानीकर्ताको संख्या बढ्दै गए पनि अझै पनि धेरैलाई दोस्रो बजारमा कसरी प्रवेश गर्ने भन्ने विषयमा पर्याप्त जानकारी छैन। 

प्राथमिकसँगै दोस्रो बजारमा पनि जुनसुकै उमेरका व्यक्तिले कारोबार गर्न पाउँछन्। नाबालिगको हकमा भने संरक्षकले कारोबार गर्न पाउँछन्। 

स–साना रकम पनि यो बजारमा लगानी गर्न मिल्ने भएकाले आमचासो बढेको देखिन्छ। तर, बजार प्रवेश गर्नुअघि सेयर बजारबारे राम्रै अध्ययन गर्न भने जरुरी छ। 

दोस्रो बजारमा कारोबार गर्न हामीले डिम्याट र मेरो सेयर लिएपछि ब्रोकर हाउसबाट गएर ब्रोकर आईडी लिएर टीएमएस लिनुपर्छ। टीएमएस लिन नाबालिगको हकमा जन्मदर्ता र अभिभावकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, फोटो तथा बालिगको हकमा नागरिकताको प्रमाणपत्र र प्यान नम्बरको प्रतिलिपि र फोटो आवश्यक पर्छ। केवाईसी फाराम भरेर थप विवरण दिनुपर्ने हुन्छ। 

बैंकमा बैंक खातामात्र खोलेर बाँकी डिम्याट, मेरो सेयर र टीएमएसजस्ता सुविधा ब्रोकर हाउसबाट लिँदा उपयुक्त हुन्छ। किनकि आफूले कारोबार गर्ने ब्रोकर हाउसमै बैंक खाताबाहेक अन्य सबै सुविधा लिँदा लगानीकर्तालाई कारोबार गर्न सहज हुन्छ। 

प्राथमिक बजारमा लगानी गर्दा जोखिम कम हुन्छ। त्यसैले जोसुकैले लगानी गर्न सक्छन्। 

दोस्रो बजारमा भने लगानी जोखिमपूर्ण हुन्छ। त्यसैले कम्पनीबारे राम्ररी अध्ययन गरेर, नाफा–घाटा, लगानीको अवस्था, रिजर्भको अवस्था, सुशासनको अवस्था, लाभांश क्षमता, सञ्चालन र व्यवस्थापनको अवस्था, बुक भ्यालु, ईपीएस, नेटवर्थलगायत सबै कुराको अध्ययन गरेर दोस्रो बजारमा कारोबार गर्नु उचित हुन्छ। 

बजारको लय र देशको आर्थिक अवस्था बुझेर आफूसँग रहेको पैसालाई २–३ चरणमा बाँढेर लगानी गर्दा बजारमा जोखिम कम हुने र नाफा कमाउन सकिन्छ।