काठमाण्डौ । सेयर किनबेचमा लिइने डीपी शुल्क कटौती तथा निःशुल्क हुनुपर्ने आवाज उठेको छ ।

हाल धितोपत्र बजारमा सेयर खरिदबिक्री गर्दा प्रतिकम्पनी डीपी शुल्कबापत रु.२५ लगानीकर्ताले तिर्नु परिरहेको छ । 

केही वर्षअघि कागजी युगमा डीपी शुल्क रु.५ मात्रै थियो भने हाल धितोपत्र किनबेच पूर्णतया डिजिटाइजेसनमा जाँदासमेत डीपीको शुल्क ५०० प्रतिशत बढी अर्थात् रु.२५ कायम गरिएको छ । 

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली डीपी शुल्क वैज्ञानिक नभएको बताउँछन् । पूर्वाधार र प्रविधिको लागत बढिरहेको जिकिर गर्दै मैनालीले डीपी शुल्क महङ्गो नभएको दाबी गर्छन् । साना लगानीकर्तालाई भने हालको डीपी शुल्क महङ्गो नै भएको उनले स्वीकारे । ‘साना र ठूला लगानीकर्ताका लागि एउटै डीपी शुल्क हुनु न्यायोचित हुँदैन।’ मैनाली भन्छन्–‘प्रतिशतका आधारमा डीपी शुल्क निर्धारण गर्दा न्यायपूर्ण होला ।’

सेयर बजार विश्लेषक हेमन्त बस्यालले भने डीपी शुल्क निःशुल्क हुनुपर्ने प्रष्ट पारे । ‘टेक्नोलोजीले ट्राञ्जेक्सन कस्ट घट्नुपर्छ।’बस्यालले बिजशालासँग भने–‘१०० कित्ता सेयर किन्नेलाई पनि रु.२५ र १ लाख कित्ता सेयर किन्नेलाई पनि रु.२५ नै हुँदा चाहिँ अन्याय नै भएको छ ।’

महङ्गो डीपी शुल्कले लगानीकर्तालाई मार परेको जिकिर गर्दै उनले लगानीकर्ताको हितका लागि डीपी शुल्क घटाइनुपर्ने, सकिए निःशुल्क नै बनाइनुपर्ने बताए । 

सेयर लगानीकर्ता केशव कोइराला डीपी शुल्कका नाममा लगानीकर्तामाथि धितोपत्र बोर्डबाट ‘डकैती’ भइरहेको दाबी गर्छन् । ‘महङ्गो डीपी शुल्कको नाममा भइरहेको लुट लगानीकर्ताको अहितमा छ।’उनी भन्छन्–‘कागजी युगमा डीपी फी रु.५, अनि डिजिटाइज युगमा चाहिँ रु.२५ लिनुभनेको चाहिँ सोझै डकैती नै हो । लगानीकर्तामाथि परेको यो अनावश्यक भारलाई शून्यमा झारिनुपर्छ।’

हाल दैनिक औसत ७० हजार हाराहारी कारोबार भइरहेका छन् । सेयर कारोबारमा प्रति कम्पनी रु.२५ डीपी फीमा धितोपत्र बोर्डले पुर्नविचार गर्नुपर्ने बेला आएको जानकारहरु बताउँछन् ।