काठमाण्डौ । मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ ५९.४१ प्रतिशतको प्रगति हासिल गरेको छ । 

बुधबार बैंकले प्रकाशित गरेको बित्तीय विवरण अनुसार आब २०७२/७३ मा ५५ करोड २० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष यो बैंकको खूद नाफा ३४ करोड ६२ लाखमा सीमित थियो । 

व्यापार बढाएसँगै बैंकको खूद ब्याज आम्दानीमा पनि राम्रो प्रगति देखिएको छ । ८९ करोड ६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको हो । 

संभावित जोखिम व्यवस्थापनको कोष ३ करोड १२ लाखबाट बढेर १३ करोड ६५ लाख पुगेको छ । निकै ठूलो मात्रामा भएको राइट ब्याक र त्योसँगै बढेको खूद ब्याज आम्दानीले मेगाको खूद नाफामा यति राम्रो प्रगति संभव भएको देखिएको छ । 

मेगा बैंकको चुक्तापूँजी ३ अर्ब २४ करोड रुपैयाँ छ भने सञ्चित कोषमा ९६ करोड ७४ लाख रुपैयाँ छ । 

बैंकले ३१ अर्ब निक्षेप संकलन गरी २७ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २१ अर्ब १३ करोड निक्षेप संकलन गरी १७ अर्ब ५४ करोड कर्जा प्रवाह गरेको थियो । 

मेगा निस्क्रिय कर्जा दरलाई राम्रो गतिमा घटाउन सफल देखिएको छ । अघिल्लो आबमा १.७५ प्रतिशतमा रहेको यस्तो कर्जा घटाएर ०७२/७३ मा ०.७९ प्रतिशतमा ल्याइएको हो । बैंकको सीडी रेसियो ७९.४८ प्रतिशत रहेको देखिन्छ । 

प्रति सेयर आम्दानी १७.०४ रुपैयाँ गरेको मेगाको प्रति सेयर नेटवर्थ १२९.८५ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात(पीई रेसियो) ३३.१७ गुणा रहेको छ ।