काठमाण्डौ । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेसनल प्रालिले डेंगु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ। 

राजधानी काठमाण्डौलगायत देशभर डेंगु रोगको प्रकोप बढिरहेका बेला हेल्थ एट होमले पाटन जेसिज, नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयर सँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो। यो अभियान दुई सातासम्म सञ्चालन हुनेछ। हेल्थ एक होमको प्राँगणबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले बताए। 

मुलुकभर डेंगुका बिराभी बढिरहेका बेला उनीहरुलाई रगतको पनि आवश्यकता पर्न सक्छ। प्रकोप बढिरहेका बेला कोसैले पनि रगत अभावमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आफुहरुले संयुक्त रुपमा रक्तदान अभियान सञ्चालन  गरेको हेल्थ एट होमकी एचआर एन्ड अपरेसन म्यानेजर डेजी नापितले बताए। 

हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ। यसका साथै हेल्थ एट होमले अहिले डेंगु रोगपीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवासमेत उपलब्ध गराउँदै आएको छ। हेल्थ एट होमले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवा दिइरहेको छ। 

यसका साथै यदि बिरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वास्थ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ। कम्पनीले यसअघि काोभिड महामारीको समयमा निःशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने  घरघरमै पुगेर उपचार गर्ने व्यवस्थासमेत मिलाएको थियो। 

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ। कम्पनीले हालैमात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ। 

हाल हेल्थ एट होममार्फत १ लाखभन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन्। हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ। 

देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ।