यो शताब्दीकै महान् दासशनिक ओशोले भनेका छन्– ‘जन्म स्वयं मिल्दछ तर जीवन हामीले नै निर्मित गर्नुपर्दछ र यसैका लागि हामीलाई शिक्षाको जरुरत पर्दछ। शिक्षाको एकमात्र अर्थ हो कि यसले हामी हाम्रो जीवनलाई आफूले चाहेअनुसारको बनाउन सकौँ।’ 

अर्का लेखक विलियम सेक्सपियरले पनि भनेका छन्– ‘शिक्षा एक यस्तो पखेँटा हो, जसको सहयोगमा हामी उडेर स्वर्ग पुग्न सक्दछौँ।’

सफल र अर्थपूर्ण जीवनका लागि शिक्षा महत्वपूर्ण भएजस्तै नै सेयर बजारमा जोखिमको मोल कम लिन अनि आत्मविश्वासका साथ लगानी गरी नाफा आर्जन गर्ने प्रमुख आधार भनेको नै सेयर बजारबारे शिक्षा हो। 

अहिले हरेकको घर वा चोक र चिया पसलमा प्रायः सेयर बजारकै कुरा हुने गरेको पाइन्छ। अपरिपक्व र नयाँ लगानीकर्ता जो अरुको लहैलहै, साथीभाइको सल्लाह, सामाजिक  सञ्जालमा आउने विभिन्न नामधारीका सुझावका साथै अरुले कमाए र म चाहिँ छुटे भन्ने सोचका कारणले गर्दा बजारमा त सजिलै छिर्दछन् तर तिनले बजारको प्रवृत्ति, गहिराइ र यसको मनोविज्ञान थाहा पाउन सक्दैनन्। 

सेयर बजारमा लगानी गर्नुको मुख्य उद्देश्य भनेको पैसा कमाउनु नै हो तर के सबैले पैसा कमाउछन् त ? अहँ यो सेयर बजारमा पैसा कमाउने केहीले मात्र हो बाँकीले जानकारीको अभाव वा अपूर्ण जानकारीका कारण पैसा गुमाएको देखिन्छ। 

हो, एउटा भनाइ के रहेको छ भने बुल मार्केटमा त एउटा गधाले पनि पैसा कमाउँदछ तर बियर मार्केटमा १०%ले मात्र कमाएर बाँकीले गुमाएको हुन्छन्। हरेक व्यवसाय गर्न केही निपुणता र कौशलता चाहिन्छ। सेयर बजार पनि एक व्यवसाय नै हो र नियमभन्दा यो माथि छैन। यसमा हिसाब र विश्लेषणलाई नै प्रमुख आधार मानिन्छ। मुख्य कुरा त के हो भने जसको विश्लेषण क्षमता कम छ वा जो विश्लेषण गर्न जाँदैनन्, तिनका लागि यो सेयर बजार उपयुक्त हुँदै होइन।

सेयर बजारमा लगानी गर्नका लागि उचित सेयर छनोट गर्नु भनेको वर्षौंदेखि लगानी गरिरहेकाहरुका लागि पनि एक कठिन कार्य हो। यसमा हाम्रो उद्देश्य लगानीको समयावधि, लगानीकर्ताको जोखिम मोल लिन सक्ने क्षमता आदि कुराले असर गर्दछ। त्यसैले सेयर बजारमा लगानी गर्नुभन्दा पहिले नै नयाँ लगानीकर्ताले त धेरै कुरामा ध्यान दिन जरुरी छ। 

लगानीकर्ताले सेयर कारोबार गर्नुभन्दा पहिले  नै धेरै कुरामा प्रस्ट भएरमात्र सेयर बजारमा लाग्नु उपयुक्त हुनेछ।

पहिले नै प्रस्ट हुनुपर्ने केही कुराहरु यस प्रकार छन्–

१. पहिले आफ्नो आर्थिक अवस्था र क्षमताअनुसारको आफ्नो लगानीयोग्य पुँजी के–कति छ ? योबारे प्रस्ट हुनुपर्दछ। लगानी गरिसकेपछि छोरा–छोरीको पढाइ खर्च, घर खर्च वा भईपरी आउने आपतकालीन केही अन्य खर्चका लागि भोलि अरुसँग हात फैलाउनुपर्ने त हैन ? यो पहिले नै विचार गर्नुपर्दछ। 

२. आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पनि पहिले नै निर्धारण गर्नुपर्दछ। कतिसम्म नोक्सानी हुँदा आफूलाई मानसिक, पारिवारिक र आर्थिक रुपमा ज्यादा फरक पर्दैन भन्ने एक सीमा निर्धारण गरे भोलि आउन सक्ने कुनै पनि तरिकाको समस्याबारे पहिले नै मानसिक रुपमा तयार भएर बस्न सहयोग मिल्नेछ।  

३. आफ्नो लगानीको उद्देश्यबारे प्रस्ट हुनुपर्ने। लगानी गर्ने उद्देश्य सबैको बेग्ला–बेग्लै हुन सक्दछ। स्थिर आम्दानी गर्ने, जोखिम लिएर नाफा आर्जन गर्ने, जोखिम कम लिएर नाफा आर्जन गर्ने अथवा छोटो समयका लागि लगानी गर्ने हो या लामो समयका लागि लगानी गर्ने हो, यी कुरालाई विचार गरी आफ्नो उद्देश्यबारे पहिले नै आफू प्रस्ट हुनु पर्दछ।  

४. लगानी गर्न मिल्ने पुँजी र आफ्नो उद्देश्यका साथ जोखिम बहन गर्न सक्ने सीमाका बारेमा प्रस्ट भएपछि आफ्नो पुँजीले पुग्ने र उद्देश्य पूरा हुने खालको सेयरको वर्गीकरण गर्नुपर्दछ। जस्तै– जोखिम लिएर बढी नाफा खोज्ने हो भने मूल्यमा उतारचढाव आइरहने सेयर खरिद गर्न सकिन्छ, जोखिम कम लिएर नाफा खोज्ने हो भने सरकारी धितोपत्र खरिद गर्न सकिन्छ।

५. आफ्नो उद्देश्य र पुँजीअनुसार कुन तरिकाले र कसरी लगानी गर्ने भन्ने निर्णय गरिसकेपछि आफ्नो सहुलियतबमोजिमको उपयुक्त हुने कम्पनी कुन हो त? त्यो निक्यौल गर्नका लागि कम्पनी छनौट गर्न निम्न ५ तरिकाले विश्लेषण गर्दा सहयोग मिल्दछ।

अ. देश तथा विश्वको राजनीतिक, आर्थिक विश्लेषण : देश तथा विश्वको राजनीतिक अवस्था आर्थिक अवस्था र यसबाट सेयर बजारमा पर्नसक्ने असरको विश्लेषण गर्ने। जस्तै– एक देशले अर्को देशमाथि आक्रमण त गरिरहेको छैन। किनकि त्यसको प्रत्यक्ष वा परोक्ष असर हामीलाई पनि पर्दछ। विश्वका अरु ठाउँका सेयर बजारमा के भइरहेको छ ? त्यसले पनि फरक पर्दछ (कोभिड १९ पछि विश्वका अन्य देशको सेयर बजार बढ्दा हाम्रो पनि बढ्यो)। 

त्यस्तै हाम्रो देशमा वैदेशिक सहयोग के–कति प्राप्त भयो ? प्रतिव्यक्ति आय कति प्रतिशतले बढ्यो ? योसमेत विचार गर्नुपर्ने हुन्छ। राजनीतिक समीकरण कस्तो छ ?  मौद्रिक नीति कस्तो आयो वा आउनेवाला छ र यसले समग्र पुँजी बजारमा या कुनै एक सेक्टरमा के–कस्तो असर पर्दछ ? आदिको सही विश्लेषण नगरी बजारमा लगानी गर्नु पक्कै जुवा खेल्नुजस्तै नै हो।

आ. कम्पनीको आन्तरिक विश्लेषण : कम्पनीको प्रतिसेयर आय, मूल्य आम्दानी अनुपात, बुक भ्यालु, कम्पनीको आम्दानी, नाफा, खर्चको स्थिति, जगेडा कोषहरु, विगत समयमा बाँड्दै आएको लाभांश आदिको विश्लेषण गर्ने। यसबाट भोलि मन्दीको अवस्थामा पनि उक्त कम्पनीले लाभ आर्जन गर्न सक्छ कि सक्दैन भन्ने कुरा बुझ्न मद्दत मिल्दछ।  

इ. कम्पनीको बाह्य विश्लेषण : आमलगानीकर्ताको उक्त कम्पनीप्रतिको धारणा बुझी कम्पनीको ट्रेन्ड कस्तो प्रकारको रहेको छ ? कम्पनीको सेयरको मूल्यमा कस्तो खालको उतारचढाव भइरहेको छ ? मूल्य बढ्ने या घट्ने दर कस्तो छ ? आदि कुराको विश्लेषण गर्ने।

ई. कम्पनी तथा व्यवस्थापन समितिबारे विश्लेषण : कुनै पनि कम्पनीमा लगानी गर्नुपहिले कम्पनीले केको तथा कसरी कारोबार गर्दछ ? कामकै आधारमा कम्पनीको ग्रोथ भइरहेको छ कि अन्य कारणले भइरहेको छ ? सूचना चुहावट कतिको हुने गरेको छ ? कम्पनीका प्रबन्ध निर्देशक, सञ्चालक तथा कर्मचारीमा भएको इमान्दारिता, कार्यदक्षता आदिको विश्लेषण गर्ने। 

कुनै पनि सूचना प्रकाशित हुनुअगावै कम्पनीको कोही न कोही आधिकारिक व्यक्तिले सूचना चुहाएपछि बजारमा पहिले नै हुने हलचलले यो जानकारी दिन्छ। अहिले हाम्रो देशमा नियामक निकाय आफैं विभिन्न विकृतिमा लिप्त भएको देखिएको हुँदा हामीजस्तो साधारण लगानीकर्ताले नै मुख्य रुपमा यसमा ध्यान दिई सजग हुँदै आवाज उठाउनुपर्ने देखियो।

उ) टेक्निकल विश्लेषण : बजारको मनोविज्ञान र बजार कता जाँदैछ भन्ने कुरा बुझ्न यो टेक्निकल विश्लेषण प्रयोग गरिन्छ। टेक्निकल विश्लेषणमा विशेषगरी सेयरको मूल्य र कारोबार भएको संख्यालाई एक चार्टमा प्रस्तुत गरेर आगामी समयमा बजार के हुन सक्छ ? त्यसको अनुमान लगाइन्छ। चार्टबाट अहिले बजारमा भइरहेको उतारचढाव आदि हेर्न यसले मद्दत गर्दछ। यसको मुख्य सिद्धान्त भनेको माग ज्यादा भए मूल्य बढ्ने र आपूर्ति ज्यादा भए मूल्य घट्ने रहेको छ। यसले हामीलाई बजारमा खरिद र बिक्री गर्ने सही ठाउँको निक्र्यौल गर्न सहयोग गर्दछ। टेक्निकल विश्लेषण गर्नका लागि बोलिंगर ब्यान्ड, एमएसीडी, आरएसआई आदि जस्ता विभिन्न इन्डिकेटर प्रयोग गरिन्छ। 

यसरी विश्लेषण गर्दा ध्यान दिनुपर्ने मुख्य कुराहरु – 

क) विगत ५ वर्षदेखि कति प्रतिफल दिएको छ ? 

ख) प्रत्येक वर्ष उचित दरले लाभांश बाँडिरहेको छ कि छैन ? 

ग) उक्त कम्पनीको कमाइ निरन्तर बढी रहेको छ कि अस्थिर र घाटामा गएको छ ? 

घ) कम्पनीले तिर्नुपर्ने ऋणको अवस्था के छ ? 

ङ) पुँजी कट्टीका लागि बोनस सेयरलाई प्राथमिकता दिने गरेको छ कि हकप्रदलाई ? किनकि प्रायः नराम्रो वित्तीय अवस्था भएको कम्पनीले मात्र हकप्रद सेयर सर्वसाधारणका लागि निष्कासन गर्दछ।

च) माथि उल्लेखित अन्य कुराबाट उचित सेयर छानिसकेपछि टेक्निकल विश्लेषणद्वारा बजारको मनोभाव के छ ? ट्रेन्ड के रहेको छ ? चार्टले के दर्शाई रहेको छ ? आदि विचार गरी कहाँ प्रवेश गर्ने र कहाँ निस्कने यो निक्र्यौल गर्ने ?

६. अब उपयुक्त तरिकाले विश्लेषण गर्ने प्रक्रिया पूरा भएपछि आफ्नो उद्देश्यबमोजिमको कम्पनी छानिसकेपछि मात्र त्यसमा लगानी गर्न उपयुक्त हुनेछ। यसका साथै यो पनि बुझ्न जरुरी छ कि १ कक्षा पास भएपछि मात्र २ कक्षामा जानेजस्तै यो बजारको हरेक पक्षका बारेमा निरन्तर जानकारी लिँदै, प्रशिक्षित हुँदै, आफूलाई निखार्दै एक–एक खुड्किला अगाडि बढेको खण्डमा बजारले हरेक घन्टा हरेक समय मौका दिन्छ। यो बजार भनेको समुद्र हो तर समुद्रमा पौडी खेल्न आउने हुनु चाहिँ पर्दछ नत्र धनको मात्र होइन ज्यानको समेत खतरा यहाँ पनि रहेको छ।