काठमाण्डौ । जारी वर्षको मे १५ को बिहानीपख अन्तर्राष्ट्रिय ह्याकरको गिरोहले जापानजस्तो समृद्ध र प्रविधिले सुसज्जित देशका विभिन्न १६ शहरका १४ सय एटीएम काउण्टरबाट २ घण्टाको अवधिमा नक्कली क्रेडिट कार्ड प्रयोग गरी १४४ करोड रुपैयाँ बराबरको रकम चोरी गरेपछि अहिले हंगामा मच्चिएको छ । सन् २०१२ देखि २०१३ सम्मको अवधिमा समेत ह्याकरहरुले यसैगरी विश्वका विभिन्न २० भन्दा बढी देशका एटीएम काउन्टरहरुबाट नक्कली क्रेडिट कार्ड प्रयोग गरी ४४२ करोड रुपैयाँ रकम चोरी गरेका थिए । विश्वका समृद्ध र प्रविधिमा अगाडि रहेका मुलुकहरुका इन्टरनेट बैकिङ सेवा त यति धेरै असुरक्षित रहेछन् भने नेपाल जस्तो देशको इ बैकिंग कति असुरक्षित होला ? पछिल्लो समय नेपालमा समेत बढ्ने क्रममा रहेको एटीएमको प्रयोग तथा इ बैकिंगतर्फ सर्वसाधारणको आकर्षणले ह्याकरहरुले नेपाल जस्तो मुलुकमा समेत आँखा नलगाउलान् भन्न सकिन्न । तपाईंले ढुक्क भएर बैंकमा राखेको पैसा नक्कली क्रेडिट कार्डबाट कसैले निकालिदिनसक्छ भन्ने देखिएपछि अब आफ्नो अकाउण्ट सुरक्षित गर्ने विषयमा गम्भीर हुन आवश्यक छ । ह्याकरहरुबाट तपार्ईको इन्टरनेट बैंक अकाउण्ट ह्याक हुन नदिन र सुरक्षित ढंगले ढुक्क भएर कारोबार गर्न तपाईका लागि हामीले केही अन्तराष्टिय एजेन्सीको सहयोगमा निम्न १० टिप्सहरु तयार गरेका छौ । तलका १० टिप्स अनुसार तपाईंले आफूलाई व्यवस्थित गर्न सक्नुभयो भने ह्याकरहरुले चाहेर पनि तपाईंको पैसा चोर्न सक्दैनन् ।  

तपाईंको पैसाको सुरक्षाका लागि यी हुन् १० टिप्स :

वेबसाइटमा सबैभन्दा पनि httpsको संकेत हेर्नुहोस्

अनलाइनबाट पैसा पठाउने वा टान्सफर गर्ने काम प्रविधिको यो दुनियाँमा सामान्य बनेको छ, तर त्यत्तिकै जोखिमपूर्ण पनि ।  हिजोआज ह्याकर्स पनि निकै स्मार्ट भइसकेका छन् । यस्तो गिरोहले समेत बैंकहरुको वेबसाइट हुबहु कपी गरेर इन्टरनेटमा राखेका हुन्छन् । यस्ता नक्कली साइटलाई सक्कली ठानेर तपाईले लग इन गर्नुभयो भने ह्याकरसम्म तपाईंको यूजरनेम र पासवर्ड सजिलै पुग्नेछ । यसपछि उसले तपाईंको अकाउण्टबाट पैसा सजिलो तरिकाले निकाल्न सक्छ । यस्ता नक्कली साइटबाट बच्नका लागि सधैं वेबसाइटको urlमा बैंकको नामभन्दा पहिला https लेखेको अवश्य हेर्नुहोला । यदि urlमा https लेखिएको छैन र यसको साटो मात्र http लेखिएको छ भने भूलेर पनि इन्टरनेट बैकिङका लागि लगइन वा फण्ड ट्रान्सफर नगर्नुहोला । 

स्ट्रङ पासवर्ड बनाउनुहोस्


यदि तपाई इन्टरनेटको प्रयोग इ–बैकिङका लागि गरिरहनुभएको छ भने आफ्नो अकाउण्ट लगइन गर्नका लागि निकै स्ट्रङ पासवोर्ड बनाउनुहोला । पासवर्ड बनाउने क्रममा भूलेर पनि आफ्नो व्यक्तिगत विवरणसँग मिल्दोजुल्दो शब्द नहाल्नुहोला । पासवर्डमा स्पेशल क्यारेक्टर तथा नम्बरको प्रयोग गर्नुहोस् । र भूलेर पनि ८ वटा अक्षर भन्दा सानो पासवर्ड नबनाउनुहोस् । यसका साथै पासवर्डको सुरुवात र अन्तिममा नम्बर भन्दा पनि अक्षर राख्ने गर्नुहोस् । तपाईंको पासवर्डलाई हरेक महिना एकपटक परिवर्तन गरिरहनुहोस् । 

लिमिट तय गर्नुहोस्


तपाईंले ध्यान दिनुपर्छ कि प्रत्येक महिना तपाई आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट कतिसम्मको बिल तिर्नुहुन्छ । कतिपय मानिस बैंकहरुलाई अग्रिम जानकारी दिन्छन् र तत् बिषयमा निश्चित पेमेन्ट समेत आफैं गर्ने सिस्टम उपयोग गर्छन । तपाई पनि नियमित रुपमा मासिक हुने खर्चका लागि बैंकलाई आफ्नो लिमिट बताउन सक्नुहुन्छ । यसबाट यदि कसैले फ्रड नै गर्यो भने पनि तपाईंलाई कम नोक्सान हुन्छ । 

इमेलबाट पासवोर्र्ड प्रोटेक्टेड डकूमेन्ट्स


तपाईंको अकाउण्ट र फाइनान्ससँग सम्बन्धित डकूमेन्ट, जुन वर्ड वा पिडिएफ फाइलमा हुन्छ, यस्ता डकूमेन्टलाई मेल गर्दा यी फाइलहरुलाई पासवर्डले सुरक्षित गर्नुहोस् । यस्तो डकूमेन्टको पासवर्ड भूलेर पनि त्यही मेलबाट नपठाउनुहोस् । यदि सकिन्छ भने तपाई जुन व्यक्तिलाई यो इमेल पठाइरहनुभएको छ, उसलाई यसको पासवर्ड फोनबाट वा दोश्रो मेलबाट पठाउने गर्नुहोस् । यो प्रक्रियामा पनि स्ट्रङ पासवर्ड नै प्रयोग गर्नुहोला । 

पब्लिक वाइफाइको प्रयोग नगर्नुहोस्


बैकिङ ट्रान्जेक्सन गर्नका लागि ओपन पब्लिक वाइफाई प्रयोग भूलेर पनि नगर्नुहोस् । ओपेन वाइफाइ पासवोर्डबाट प्रोटेक्टेड हुँदैन र यस्ता वाइफाइबाट खोलिएका अकाउण्ट, वेबसाइट वा इमेललाई ह्याक गर्न ह्याकरहरुलाई सजिलो हुन्छ । यदि तपाईं घरमा समेत वाइफाइ प्रयोग गर्नुहुन्छ भने त्यसलाई सधैं स्ट्रङ पासवर्डले सुरक्षित गर्नुहोस्, वाइफाइको पासवर्ड अरुलाई दिने भूल पनि नगर्नुहोला । घरमा प्रयोग भइरहेको वाइफाइमा तपाई कम्तीमा १४ वटा अक्षर वा नम्बर भएको पासवोर्ड प्रयोग गरे राम्रो हुन्छ । 

डेस्कटप वा ल्यापटपमा स्ट्रङ एन्टीभाइरस हाल्नुहोस्


तपाईं सधैं आफ्नो डेस्कटप वा ल्यापटपमा एन्टीभाइरस अपलोड गर्नुहोस्, ता कि ह्याकरले तपाईंको सिस्टम ह्याक गर्न नसकोस् । ह्याकर्सहरु सधैं यस्तो सिस्टमको खोजीमा हुन्छन्, जसमा कुनै एन्टीभाइरस अपलोड नभएको होस् । यदि तपाईको सिस्टममा एन्टीभाइरस छैन भने चलेको कम्पनीको एन्टीभाइरस सफ्टवेयर अपलोड गर्नुहोस्, ताकि तपाई फिसिङबाट बच्न सक्नुहुन्छ । 

वनटाइम पासवर्ड कोर्ड(ओटीपी)को प्रयोग


जब तपाई कुनै फाइनान्सियल ट्रान्जेक्सन गर्दै हुनुहुन्छ भने सधैं ओटीपी कोड प्रयोग गर्ने गर्नुहोस् । ओटीपी कोड तपाईको मोवाइलमा आउँछ, जब तपाईंले कसैलाई पेमेन्ट गर्नुहुन्छ । बैंकले नै तपाईलाई यस्तो कोड पठाउँछ र यो कोड केवल १५ मिनेटका लागि मात्र भ्यालिड हुन्छ । यसका साथै तपाई आफ्नो इ–बैकिङ अकाउण्ट लगइन गर्नका लागि सधैं रेगुलर किबोर्डको साटो भच्र्यूअल किबोर्ड प्रयोग गर्नुहोस् । 

मोवाइल एपबाट जथाभावी ट्रान्सफर नगर्नुहोस्


हिजोआज मानिसहरु मोवाइल एपबाट पैसा ट्रान्सफर गरिरहेका हुन्छन् । एपबाट पैसा ट्रान्सफर गर्दा समेत फ्रड हुनसक्छ । किनकि ह्याकर्सहरुले नक्कली एपलाई समेत गुगल प्लेस्टोरमा इन्स्टल गरेर राखेका हुन्छन् । आफ्नो बैंकको एप प्ले स्टोरबाट डाउनलोड गर्नुअघि त्यसको रेटिङ पहिला चेकजाँच गर्नुहोस् । यदि रेटिङ खास राम्रो छैन र तपाईलाई लाग्यो कि धेरै कम मानिसले मात्र सो एप डाउनलोड गरेका रहेछन्, भने त्यो एपलाई भूलेर पनि डाउनलोड नगर्नुहोस् । यदि भूलवश यस्तो एप डाउनलोड भइहाल्यो भने पनि त्यसलाई तुरुन्तै आफ्नो मोवाइलबाट अनइन्स्टल गर्नुहोस् । 

डेबिट / क्रेडिट कार्डको कुनै पनि जानकारी स्टोर नगर्नुहोस्


एप, अनलाइन वा आफ्नो इमेल अकाउण्टमा डेबिट र क्रेडिट कार्डको नम्बर, इयर, सीबीबी नम्बरलाई कहिल्यै पनि सेभ गरेर नराख्नुहोस् । यदि यो विषयमा सावधानी भएन भने तपाईंको इमेल अकाउण्ट ह्याक गर्न सक्नेले तपाईले बैंकमा राखेको पैसा सजिलै निकालिदिन सक्छ । यदि तपाईको बिर्सने बानी छ र कार्डको नम्बर वा पिनकोड सम्झिन सक्नुहुन्न भने त्यस्ता नम्बरलाई कुनै कापी वा डायरीमा लेखेर राख्ने गर्नुहोस् । 

CACHE लाई क्लियर गरिरहनुहोस््


जब तपाई वेबसाइट सर्फ गर्नुहुन्छ, ब्राउजरमा यस्तो वेबपेज पनि सेभ भइदिन्छ, जसलाई CACHE भनिन्छ । यस्तो CACHE तपाई आफ्नो ब्राउजरबाट प्रत्येक साता वा १५ दिनको अवधिमा एकपटक क्लियर गर्ने गर्नुहोस्, ताकि तपाईको बैंकको लगइन आइडी र पासवर्ड स्टोर हुन नसकोस् । यसो गरेर तपाईंले आफ्नो इबैकिङ अकाउण्टलाई धेरै हदसम्म सुरक्षित राख्न सक्नुहुनेछ ।