काठमाण्डौ । लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिजा कार्ड डिजाइनको खोजी गर्न क्राउड सोर्सिङको प्रक्रियाद्वारा देशभर खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । 

यो प्रतियोगिताको मूल उद्देश्य भनेकै सातै प्रदेशका मौलिक कला, संस्कृति र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी रहेको बैंकले प्रष्ट्याएको छ । 

साथै यस प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स् समेत प्रदान गराउने लक्ष्य बैंकको छ ।

डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उल्लंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्ने बताइएको छ । 

कार्ड डिजाइन गर्दा प्रदेशको मौलिक कला, सँस्कृति वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ ।

प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप रु ५०,००० प्राप्त गर्न सक्ने बताइएको छ । यसरी ७ प्रदेशका लागि कूल नगद पुरस्कार रु ३,५०,००० प्रदान गरिनेछ  । 

विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत रहनेछ भने छनौट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकमा निहीत हुनेछ । प्राप्त डिजाइनहरु बैंकले आफ्नो अवश्यकता बमोजिम कुनै पनि बेला प्रयोग गर्न समेत सक्नेछ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिखसम्ममा बैकंको वेबसाइटमार्फत बुझाइसक्नुपर्नेछ ।