काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ। 

मेगा बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघबीच यस कर्जा सुविधाका विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको छ।

मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीतिबमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ। 

यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आफ्नो व्यावसाय प्रवर्द्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ। मेगा बैंकका २०४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्नेछन्।