काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को अभाव चुलिँदै गएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ३० अर्ब रुपैयाँबराबरको सातदिने रिपो उपकरण जारी गर्ने भएको छ।

अल्पकालीन ब्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदरमा स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले केन्द्रीय बैंकले ब्याजदर करिडर लागू गरेको थियो। सोही व्यवस्थालाई लागू गर्न तरलताको अवस्था हेरेर केन्द्रीय बैंकले सातदिने निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने भएको हो। यो क्रममा तरलता न्यून हुँदा रिपो जारी गरिन्छ भने अधिक हुँदा रिभर्स रिपो जारी गरिन्छ। 

हाल प्रणालीमा देखिएको तरलता अभावको समस्या समाधानका लागि रिपो उपकरणमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो। यो उपकरणमार्फत बजारमा पठाइने पैसा बैंकहरुले पाउने र यसले तरलता व्यवस्थापन हुने राष्ट्र बैंकले जनाएको छ। 

आज बोलकबोलमार्फत जारी हुने रिपो असोज २० गते परिपक्व हुनेछ। बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय सहभागी हुन पाउनेछन्। बोलकबोल आज दिउँसो ३ बजे हुनेछ।