काठमाण्डौ । स्टक ब्रोकर नम्बर ४३, साउथ एसियन बुल्स प्रालिका कर्मचारीहरु आन्दोलित भएका छन् ।

स्टक ब्रोकर नम्बर ४३ साउथ एसियन बुल्स प्रालिमा कार्यरत १८ कर्मचारीहरुमध्ये अहिले सोही कार्यालयमा १५ जना कर्मचारीहरु आन्दोलित भएका हुन् । 

आन्दोलित कर्मचारीहरुमध्ये एक बिजशालाको सम्पर्कमा आई स्टक ब्रोकर नम्बर ४३ साउथ एसियन बुल्स प्रालिका सञ्चालक राकेश अग्रवालले केही महिनादेखि तलब नदिएको गुनासो पोखेका छन् ।

साउथ एसियन बुल्स प्रालिले गत बैशाख र जेठ महिनाको आधा तलब र असारको तलब नदिएको ती कर्मचारीले बिजशालासमक्ष गुनासो गरे ।

सो ब्रोकर कम्पनीका सञ्चालक अग्रवालको व्यवहारका कारण लकडाउनका बेलासमेत सोही संस्थामा कार्यरत एक कर्मचारीले आत्महत्या गरेका ती कर्मचारीको दाबी छ । ती कर्मचारीको
२ महिनाको बच्चा भएको र लकडाउनले असहज हुँदा समेत अफिस आई कार्य गर्न दवाब दिएका कारण आत्महत्याको बाटो रोजेकी देखिएको कर्मचारीको दाबी छ । 

यस्तै सो कम्पनी निरन्तर नाफामा गए पनि अग्रवालले कर्मचारीहरुलाई २ वर्षदेखि बोनस समेत वितरण नगरेको ती कर्मचारी बताउँछन् ।

कर्मचारीका अनुसार सञ्चालक राकेश अग्रवालले ग्राहकसँग अनुचित व्यवहार गर्ने, सेयर जबरजस्ती बिक्री गरी पैसा नदिनेलगायत थुप्रै ज्यादती समेत गर्ने गरेका छन् । 

कर्मचारीले लगाएका आरोप र आन्दोलनको कारणबारे बुझ्न हामीले स्टक ब्रोकर नम्बर ४३ साउथ एसियन बुल्स प्रालिका सञ्चालक राकेश अग्रवालसँग सम्पर्क गर्दा आफू हस्पिटल भएको दाबी गर्दै फोन सम्पर्क विच्छेद गरे । आन्दोलित कर्मचारीले भने आज कार्यालय समयदेखि नै उनी अस्पताल नभई कार्यालयमै बसेर काम गरिरहेका छन् । यो ब्रोकरको कार्यालय कुलेश्वरमा रहेको छ ।