काठमाण्डौ । रामेछाप र ओखलढुंगाको सीमामा पर्ने लिखु खोलामा निर्माण हुने २८.१ मेगावाट क्षमताको तल्लो लिखू जलविद्युत आयोजनामा लक्ष्मी बैंकको नेतृत्व(कन्सोर्टियम लिड)मा ४ वटा बैंक र एक कम्पनीले ५ अर्ब ५९ करोड ऋण लगानी गर्ने भएका छन् । 

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमीटेडले यो आयोजना निर्माण गर्न लागेको हो । ऋण लगानी गर्ने बैंक तथा श्वेत गंगाबीच कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको हो । 

यो आयोजनामा लक्ष्मी बैंक लिमीटेडले १ अर्ब २४ करोड ऋण लगानी गर्नेछ । यस्तै, कुमारी बैंकले १ अर्ब, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड र जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड ऋण लगानी गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (रु.४ अर्ब १९ करोड) र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् । 

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमीटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद सम्बन्धी सम्झौता २०७३ साल पौष १४ गते भएको र उक्त आयोजना निर्माणका लागि उर्जा मन्त्रालयबाट २०७२ साल चैत्र २८ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमीटेडलाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

उत्पादनक्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमीटेडले झण्डै १७०.८४ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेकोमध्येको एक ठुलो आयोजना हुनेछ ।