काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रवक्ता प्रहरी निरीक्षक राजकुमार तामाङले तारा एयरको हराइरहेको भनिएको विमान दुर्घटनामै परेको यकिन विवरण नआइसकेको प्रष्ट पारेका छन्।

विभिन्न मिडियाहरुमा लेते आसपासको पहाडी क्षेत्रमा ठूलो आवाज आएको भन्दै स्थानीयलाई उद्धृत गर्दै समाचार सम्प्रेषण भएपछि उनले आधिकारिक रुपमा विमान दुर्घटनामै परेको हो या हराइरहेको मात्र हो भन्ने विषयमा बोल्नु हतारो हुने बताए । 

'बिमान दुर्घटनामै परेको हो भन्ने कुनै पनि प्रष्ट आधार हामीसँग छैन ।' उनले भने-'लेते आसपासमा विमानसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क छैन । बाक्लो कुहिरोमा फसेर कतै हराइरहेको पो हो कि भन्ने पनि आशंका छ । यसै भन्न सकिने अवस्था छैन ।' 

कतिपयले आफूहरुलाई उद्धृत गर्दै ठूलो आवाज आएको जस्ता खबरहरु सम्प्रेषण भइरहेकोतर्फ उनले आपत्ति जनाएका छन् । 'हामीलाई कुनै पनि स्थानीयले त्यस्तो खबर गरेका छैनन् ।' थप प्रष्ट पार्दै उनले भने-'लेतेमै अन्तिम सम्पर्क भएकोले सोही आसपासको क्षेत्रलाई केन्द्रभागमा राखी हामीले खोजी कार्यलाई जारी राखेका छौं।' 

हाल सो क्षेत्रको मौसम प्रतिकूल भएका कारण हेलिकोप्टर जान नसकेको र पैदलमार्गबाट प्रहरी टोली अगाडि बढिसकेको समेत उनले प्रष्ट पारे ।