काठमाडौँ । चालू आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक अवधिमा तिनाउ डेभलपमेन्टले सन्तोषजनक प्रगति गर्न सकेन । कम्पनीले आज सार्वजनिक गरेको त्रैमासिक विवरण अनुसार गत वर्षको भन्दा पनि कम्पनीले खराब प्रदर्शन गरेको देखिएको हो । 
 
कम्पनीले तेस्रो त्रैमासिक अवधि (चैत्र ३० गते) सम्ममा ५ करोड ३८ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा करीव ३० प्रतिशतले कम हो । गत वर्ष सोही अवधिमा बैंकले ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पहिलो र दोस्रो त्रैमासिक अवधिमा राम्रो प्रदर्शन गर्न नसकेको बैंकले तेस्रो त्रैमासिक अवधिमा भने आक्रामक प्रगति गर्ने अपेक्षा गरिएको थियो ।
 
कम्पनीले खुद ब्याज आम्दानीका साथै सञ्चालन मुनाफा वृद्धि गर्न नसकेका कारण समग्र नाफा सूचक पनि कमजोर देखिएको हो । कर्मचारी खर्च वृद्धि गर्दै लगेको बैंकको अन्य खर्चमा समेत उल्लेख्य वृद्धि भएको छ । तेस्राे त्रैमासमा कम्पनीले १२ करोड १ लाख ४९ हजार रुपैया ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा २० प्रतिशतले कमी हो । गत वर्ष सोही अवधिमा कम्पनीले १५ करोड ५ लाख १० हजार रुपैया व्याज आम्दानी गरेको थियो । यसैगरी कम्पनीको सञ्चालन मुनाफामा समेत व्यापक कमी आएको छ । गत वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ८७ लाख ६४ हजार रुपैया सञ्चालन मुनाफा गरेको थियो । तर यस वर्ष सोही अवधिसम्म कम्पनीले ७ करोड १५ लाख ५१ हजार रुपैया मात्र सञ्चालन मुनाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ । कर्मचारीको तलबभत्ता र अन्य खर्च समेत वृद्धि भएका कारण बैंकको प्रगति निराशाजनक देखिएको हो । 
 
बुटबलमा केन्द्रीय कार्यालय रहेको विकास बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय २५ रुपैयाँ ६० पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १४ दशमलव ८४ रुपैयाँ रहेको छ ।
 
कम्पनीको नाफा कमजोर देखिए पनि कम्पनीले चुक्ता पूँजीमा भने वृद्धि गरेको छ । गत वर्ष ३९ करोड ६६ लाख ६७ हजार रहेको चुक्ता पूँजी हाल ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको छ । कम्पनीले जगेडा कोष न्यून रुपमा वृद्धि गर्दै लगेको छ ।