काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेसनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गरेको प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। 

केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएसँगै सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले यही चैत महिनाभित्रै एकीकृत कारोबार गर्ने तयारी सुरु गरेका छन्। एकीकृत कारोबार प्रयोजनका लागि सिटिजन्स बैंक सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले यही चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। 

गत माघ १५ गतेसम्म सिटिजन्स बैंकको विशेष साधारणसभा र तिनाउ मिसनको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए। 

सिटिजन्स बैंकले तिनाउ मिसनलाई १ः०।९६ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। जसअनुसार तिनाउ मिसनको १०० कित्ता सेयर सिटिजन्स बैंकमा आउँदा ९६ कित्ता हुनेछ। 

तिनाउ मिसनलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिब १०४ अर्ब रुपैयाँ पुग्नेछ। प्राप्तिपश्चात बैंकको कुल १६३ शाखा हुनेछ।