काठमाण्डौ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनलले एकीकृत कारोबार चैत १४ गतेबाट गर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले हिजो सोमबार एकीकृत कारोबारका लागि स्वीकृति दिएको हो। केन्द्रीय बैंकबाट स्वीकृति पाएपछि सिटिजन्स बैंक इन्टरनेसनलकै नाममा एकीकृत कारोबार चैत १४ गतेबाट सुरु हुने भएको हो। 

दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए। गत माघ १५ गतेसम्म सिटिजन्स बैंकको विशेष साधारणसभा र तिनाउ मिसनको वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेका थिए। राष्ट्र बैंकले भने गत चैत ५ गते सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिएको थियो। 

सिटिजन्सले तिनाउ मिसनलाई प्रतिकित्ता १ः०.९६ सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। जसअनुसार तिनाउ मिसनको १०० कित्ता सेयर सिटिजन्स बैंकमा आउँदा ९६ कित्ता हुनेछ। 

एकीकृत कारोबारका लागि सिटिजन्स बैंकले चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरिसकेको छ।