काठमाण्डौ । पुँजी बजार सुधारको माग राख्दै नेपाल पुँजी बजार विकास अभियानका संयोजकक तिलक कोइरालाको नेतृत्वमा आज आइतबारबाट आमरण अनसन सुरु गरिएको छ।

सिंहदरबार प्लाजास्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालयअगाडि कोइरालाको नेतृत्वमा आमरण अनसन सुरु भएको हो। अर्थमन्त्रालयद्धारा गठित कार्यदलले तयार पारेको ५८ बुँदे सुझावसहितको प्रतिवेदन २०७५ सालमै सरकारले पूरा गर्छ भन्ने प्रतिवद्धतामध्ये बाँकी १८ बुँदा पूरा नगरेकाले बाँकी सुझावसमेत कार्यान्वयन गर्न एकसूत्रीय मागसहित आमरणअनसन सुरु गरेको कोइरालाको भनाइ छ ।

निजी क्षेत्रको स्वामित्व बढाउँदै रणनीतिक साझेदारीसहित नेप्सेको पुनर्संरचना, पूँजीगत लाभकरका लागि समयावधि किटान, हालको ब्रोकर कमिसन एकै दरलाई प्रतिस्पर्धात्मक बनाइनुपर्नेलगायतका माग तत्काल कार्यान्यन हुनुपर्ने कोइरालाको अडान छ। वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिई बैंक इन्टिग्रेसनसहित सेयर कारोबार गर्ने प्रणालीको विकास हुनुपर्ने, रियल सेक्टरको निमयनका लागि नियमनकारी निकायको व्यवस्था, अनलाइन सेयर कारोबार प्रणालीमा बारम्बार देखिने समस्या हल हुनुपर्ने, संस्थागत लगानीकर्तालाई दीर्घकालसम्म बजारमा टिकाउने र समग्र बजारको स्थायीत्वका लागि माथि उल्लेख गरिएका मागहरु तत्काल हुनुपर्ने कोइरालाको भनाइ छ। माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने कोइरालाले बताए। ‘हाम्रो आमरण अनसनको मुख्य भागिदार अर्थमन्त्री विष्णु पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउद हुनेछन्’, उनले भने, ‘आन्दोलनबिना त माग नै पूरा हुने देखिएपछि अनसनमा उत्रिन बाध्य भएका हौँ।’ 

लगानीकर्ताको हकहित तथा पुँजीको सुरक्षाका लागि शान्तिपूर्ण रुपमा आमरण अनसन बस्ने कार्यक्रम तय गरिएको कोइरालाले बताए। ‘हाम्रो आन्दोलन समग्र पुँजीबजारको विकासका लागि हो’, उनले भने।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले १८ बुँदे सुझाव कार्यान्वयनमा गम्भीरतापूर्वक लिएर काम नगरेको आरोप कोइरालाको छ। ‘सूचक बढेरमात्रै बजारको विकास हुँदैन’, उनल भने, ‘बजार बढेसँगै जोखिम पनि बढिरहेको र बजारमा भवितव्य केही भए हाल लगानी गर्दै आएका हजारौँ लगानीकर्तामा चरम निराशा छाउने र बजारबाटै पलायन हुने खतरा बढेको छ।’

आमरण अनसन जरुरी र सान्दर्भिक रहेको तर्क गर्दै कोइरालाले आमलगानीकर्ता तथा लगानीकर्ता संघसंगठनलाई आन्दोलनको मैदानमा साथ दिन आह्वानसमेत गरेका छन्। आमरण अनसनस्थलमा अहिले १५ जनाभन्दा बढी लगानीकर्ता उपस्थित छन्।