काठमाण्डौ । आगामी साउन २२ गते शनिबार राजधानीको तीनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ हुने भएको छ । 

नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सिसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने बताइएको छ । 

तीनकुनेमा निर्माण गरिने करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्ने छन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिने च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिनेछ । 

च्याम्पियनसिपका बिजेताहरुलाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म हुने र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।