काठमाण्डौ । राजधानीको तिनकुनेमा शनिवार ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’ सम्पन्न भएको छ । 

दर्शकहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न च्याम्पियनसिपमा अस्कर श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । 

नेपाल मोटरसाइकल फेडरेसन(एनएमएफ)को आयोजनामा संचालित च्याम्पियनसिपमा २५० सिसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता थियो । राष्ट्रिय खेलकुद परिषदकी कामु सदस्य सचिव अस्मिता गुरुङले उद्घाटन गरेको उक्त च्याम्पियनसिपका सहभागी राइडरहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन(नासा)का महासचिव गोविन्द भट्टराईले सपथ दिलाएका थिए । 

तिनकुनेमा निर्माण गरिएको करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन गरिएको च्याम्पियनसिपमा भाग लिने खेलाडीहरुलाई समेत रेसिङ सम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिएको थियो । प्रतियोगितालाई क्वालिफाइङ, सेमी–फाइनल र फाइनल राउन्ड गरी ३ चरणमा विभाजन गरिएको थियो । चिकेन ¥याम्प, हाई स्पिड ट्रयाक र हाई जम्प जस्ता विभिन्न प्रकारका ट्रयाकमा उक्त च्याम्पियनसिप सम्पन्न भएको थियो । 

च्याम्पियनसिपका बिजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद तथा सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरे । त्यसैगरी विभिन्न प्रकारका गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । 

अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म भएको र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने आयोजकको विश्वास छ । नेपाल जस्तो कठीन भौगोलिक बनोट भएको देशमा यस प्रकारको इभेन्टले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास आयोजकको छ । 

नेपाली युवाहरुका बीचमा अत्यन्तै लोकप्रिय एसिया विङ अन्तर्गतको क्रसफायर बाइकको मूख्य प्रायोजनमा सम्पन्न उक्त च्याम्पियनसिपको अन्य प्रायोजकमा यूएम बाइक, टीभीएस टायर, रेडबुल लगायत रहेका थिए ।