काठमाण्डौ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडले विभिन्न बैंक तथा वित्तीय संस्थाको साढे ५ लाख कित्ता बढी संस्थापक सेयर आज भदौ २० गतेबाट लिलामीमा राखेको छ।

हाथवेले सेन्चुरी कमर्सियल बैंक, कामना सेवा विकास बैंक र मञ्जुश्री फाइनान्समा रहेको आफ्नो स्वामित्वको कुल ५ लाख ५१ हजार ९३४ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा सेन्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता रहेका छन्।

लिलामीमा राखिएको सेयरमा विद्यमान सेयरधनी वा अन्य व्यक्ति र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

लिलामीमा राखिएको सेयरमध्ये प्रतिकित्ता सेन्चुरी बैंकको १५० रुपैयाँ, कामना सेवा विकास बैंकको २५० रुपैयाँ र मञ्जुश्री फाइनान्सको ३५० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ। आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति यही भदौ २७ गते बैंकिङ समयसम्म तोकिएको छ।