काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्थानीय प्रहरी युनिटसँग सहकार्य गरी देशका विभिन्न क्षेत्रबाट १५ नक्कली चिकित्सकलाई शुक्रबार नियन्त्रणमा लिएको छ । 

वीरगञ्जबाट ९, विराटनगरबाट ३ र चितवनबाट ३ गरी १५ चिकित्सक पक्राउ परेका हुन् । 

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा शुक्रबार पर्साको वीरगञ्जबाट नौ चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडाँैबाट आएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार र निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो । 

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा.कुशराज गिरी, डा.सरोजकुमार सिंह, डा.पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा.इरसादुल हक, डा. महम्मद राहुल्ला, डा. निमेष पाल रमन र डा. रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा. दिनेश साह र डा. अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
अभियुक्त सबै चिकित्सकको शौक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी सिआइबीमा परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

नेसनल मेडिकल कलेजको सघन कक्षमा बिरामीको शल्यक्रिया गरिरहेका बेला प्रवेश गरी चिकित्सकलाई पक्राउ गर्नु प्रहरीको गलत कार्यशैली रहेको आरोप डा. निरज सिंहले लगाएका छन् । यसैबीच, चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् । चिकित्सक पक्राउको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय परिसरभित्रै चिकित्सक तथा मेडिकल स्टाफले प्रहरीविरुद्ध नाराबाजी पनि गरे ।

यसैगरी, चितवनमा शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका तीन चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरी छन् । केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । 

उता, मोरंगको विराटनगरबाट पनि नक्कली प्रमाणपत्रकै अभियोगमा चर्चित तीन डाक्टरलाई पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा. सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा. अब्दुल कलाम हक रहेका मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले जानकारी दिए । सबै चिकित्सकलाई अस्पतालबाटै पक्राउ गरिएको उनले बताए । हाल तीनै जना चिकित्सकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

राससको सहयोगमा