काठमाण्डौ । तीन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेका आकर्षक लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम मौका रहेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, किसान माइक्रोफाइनान्स र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । यी तीनवटै लघुवित्त संस्थाले साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि (पुस १५) गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेका छन् । 

फरवार्डले आफ्नो सातौँ वार्षिक साधारणसभा पुस २९ गते सुनसरीको दुहबीस्थित आफ्नो केन्द्रीय कार्यालयमा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँको कुल ४५ प्रतिशतले हुन आउने १६ करोड ९९ लाख ५२ हजार ४०० रुपैयाँबराबर लाभांश कुल ४५ प्रतिशत लाभांश अनुमोदन हुनेछ ।

संस्थाले चुक्ता पुँजीको ३२.५० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ४३ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै चुक्तापुँजीको १२.५० प्रतिशतले हुन आउने चार करोड ७२ लाख ९ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा अन्य कुनै इजाजतपत्र प्राप्त ‘घ’ वर्गका वित्तीय संस्थाहरुलाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि गरिने सम्पूर्ण कार्यको पूर्ण अख्तियार सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा अर्को मुख्य अजेन्डाका रुपमा राखिने संस्थाको नाम परिवर्तन सम्बन्धी प्रस्ताव पनि पारित हुनेछ ।

त्यस्तै किसान माइक्रोफाइनान्सले यी पुस १६ गते कैलालीको लम्कीचुहास्थित होटल शान्तिमा आफ्नो सातौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ ।  

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल २५.१४ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी २१ करोड ३२ लाख १७ हजार ५५० रुपैयाँको २४ प्रतिशतले हुन आउने २ करोड ६ लाख ४२ हजार २८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशतले हुन आउने ९ लाख ८२ हजार ९६६ रुपैयाँबराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी संस्थाको बोसन सेयरपश्चातको चुक्ता पुँजी रु १० करोड ६६ लाख ८ हजार ७७५ रुपैयाँको सतप्रतिशत (१:१) हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

यसैगरी मिथिला लघुवित्तले यही पुस २९ गते धनुषाको जनकपुरस्थित होटल राजदरबारको सभाहलमा आफ्नो ११ औँ वार्षिक साधारणसभा गर्दैछ । 

सभामा गत वर्षको मुनाफाबाट प्रस्तावित कुल १५.७८ प्रतिशत लाभांश पारित हुनेछ ।

संस्थाले चुक्तापुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँको १५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ७९ हजार २४० रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । त्यस्तै बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले चुक्तापुँजीको ०.७८ प्रतिशतले हुन आउने ८ लाख ३५ हजार ७४९.४९ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ।

सभामा संस्थाको सेयरधनी संचरना परिवर्तन गर्ने भनी राखिने विशेष प्रस्ताव पनि पारित हुनेछ । हाल संस्थामा ७० प्रतिशत सेयर संस्थापक समूह र ३० प्रतिशत सर्वसाधारणसभा समूहको स्वामित्व रहेकोमा त्यसलाई परिवर्तन गरी क्रमशः ५१ र ४९ प्रतिशत बनाउने प्रस्ताव सभाले पारित गर्नेछ ।