काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाको पौने ५ लाख बढी कित्ता संस्थापक सेयर आज (असार २७ गते) बाट लिलामीमार्फत बिक्रीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त, मेरो माइक्रोफाइनान्स र महुली लघुवित्तका कुल ४ लाख ८३ हजार ६७३ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। जसमा आरएमडीसीको ३ लाख ७३ हजार ७६५ कित्ता, मेरोको ५६ हजार ८३८ कित्ता र महुलीको ५३ हजार ७० कित्ता रहेका छन्। 

लिलामीमा राखिएका सेयरको प्रतिकित्ता आरएमडीसीको ४७३ रुपैयाँ, मेरोको ५३४ कित्ता र महुलीको ७५२ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामी सेयरमा विद्यमान सेयरधनी वा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले महुलीमा बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ता तथा आरएमडीसी र मेरोमा न्यूनतम १०० तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटल लिमिटेडमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ३१ गते बैंकिङ समयसम्म तोकिएको छ।