काठमाण्डौ । विश्वका अधिकांश देशमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्रगतिमा फैलिन थालेको छ। 

करिब एक महिना अघिमात्रै पत्ता लागेको थियो। सुरुआतमा यो भेरिएन्ट दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। त्यसपछि यो नयाँ भेरिएन्ट अहिले विश्वका ३० भन्दा बढी देशमा फैलिसकेको छ। 

नयाँ भेरिएन्ट देखिएसँगै दक्षिण अफ्रिकामा अहिले तीव्रगतिमा कोभिड संक्रमण फैलिरहेको छ। तर ओमिक्रोनकै कारण संक्रमण बढिरहेको भन्ने विषयमा अझै यकिन भइसकेको छैन।

ओमिक्रोनमा निकै संक्रामक रहेको बताइए पनि यसको लक्षण हल्कामात्र देखिएको छ। कोभिडका अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनको असर बिरामीमा कम देखिएको वैज्ञानिकहरुले बताएका छन्। 

विश्वका मुख्य अस्पतालहरुका अनुसन्धानकर्ताहरुले अहिले अस्पतालहरुमा भर्ना भएका कोभिड संक्रमित बिरामीहरुमा पहिलेको तुलनामा कम स्वास्थ्य समस्या देखिएका छन्। अन्य अस्पतालमा भर्ना भएका बिरामीमा खासै जटिल समस्या नदेखिएको उनीहरुको भनाइ छ। 

वैज्ञानिकहरुले भने अहिले नै सामान्य प्रमाणका आधारमा ओमिक्रोनका विषयमा राम्रा र नराम्रा खबर बाहिर ल्याउनु उचित नहुने बताउँछन्। यो नयाँ भेरिएन्ट भर्खरै देखिएको र यसको प्रभावका विषयमा यकिनका भन्न थप अनुसन्धान गर्न आवश्यक रहेको उनीहरुको धारणा छ। 

जोन हप्किङ्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी महामारी रोग विशेषज्ञ डा इमिले एस गर्ले अहिलेसम्मको अवस्थामा नयाँ भेरिएन्टको हल्का लक्षणमात्र देखिएको बताउँछिन्। ‘तर यतिमै यसलाई हामीले हल्का रुपमा लिनु हुन्न’, उनले भने, ‘यसको प्रभाव र असरका विषयमा थप अनुसन्धान हुन आवश्यक छ।’

पर्याप्त प्रमाण तथा अनुसन्धानको अभावमा अहिले नै विश्वका केही देशका सरकारले ओमिक्रोनलाई लिएर कडा प्रतिबन्धसहित अन्तर्राष्ट्रिय यात्रामा अंकुश लगाएका छन्। उनीहरुले खोप अभियानलाई तीव्रता दिनुपर्ने बताइरहेका छन्। कतिपय विज्ञहरुले अन्तर्राष्ट्रि यात्रामाथि लगाइएको प्रतिबन्धमाथि प्रश्न नै उठाएका छन्।

अहिले यो नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिरहेको छ। अनुसन्धानकर्ताहरुले यो भेरिएन्ट पहिलेको तुलनामा निकै संक्रामक रहेको पनि जनाएका छन्। यसले लगातार २ वर्षको महामारीको अवस्थालाई पुनः लम्ब्याउनसक्ने उनीहरुको चेतावनी छ। जसका कारण विश्व अर्थतन्त्रमा पुनः धक्का पुग्ने उनीहरुको भनाइ छ। – एजेन्सी