काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दाङको तुलसीपुरमा ‘महिला सशक्तीकरणमा–महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ। 

यही पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा सञ्चालित कार्यक्रममा स्थानीय जनप्रतिनिधि. महिला तथा विभिन्न संघसंस्थामा आबद्ध ८० भन्दा बढी महिलाको उपस्थिति थियो।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले मुलुकको विकासका लागि महिलालाई रोजगारी र आयआर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताए। समाजमा पिछडिएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ थियो। 

तुलसीपुर कार्यालय प्रमुख टेकम धितालबाट सञ्चालित कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तीकरणमा महालक्ष्मी लाइफले गर्ने कार्यक्रमको विषयमा प्रकाश पारेका थिए। कम्पनीका बजार प्रबन्धक यमलाल न्यौपानेले स्वागत मन्तव्य दिँदै उपस्थित महिलाहरुलाई मनोबल उच्च बनाउन पनि आयआर्जन कार्यमा अघि बढ्न आग्रह गरे। 

सभापतिको आसनबाट इन्दु आचार्यले बैंक बीमा कम्पनीमध्ये महालक्ष्मी लाइफले पहिलोपटक ल्याएको महिला सशक्तीकरण कार्यक्रमको प्रशंसा गर्दै यस क्षेत्रको महिलाहरुको कार्यक्रममा पूर्ण सहयोग, सहकार्य हुने विश्वास दिलाए।