– भक्तराज रसाइली

काठमाण्डौ ।  सेयरबजारलाई धनाढ्यहरुको क्रीडास्थल मानिन्छ । यही धनाढ्य बन्ने सपना बोकेर विभिन्न प्रोफेसनका व्यक्तिहरुको जमातको पनि लगानी सेयरबजारमा हुँदै आएको सर्वविदितै छ । 

राष्ट्रकै उच्च गरिमा बोकेको निजामती सेवामा कार्यरत कर्मचारीको पनि आकर्षण सेयर बजारमा बिछट्टै छ । ४१ वर्षको सरकारी सेवामा बिताएका पूर्वशाखा अधिकृत कुलचन्द्र भट्टराईको ३३ वर्षे सेयरबजारको यात्राबारे यस साता प्रस्तुत गर्दौछौँ ।

पुख्र्यौली घर ताप्लेजुङ भएका ६५ वर्षीय भट्टराई धरानको बरगाछीमा बसोबास गर्छन् । सेवानिवृत्त भएको ६ वर्ष भयो । २०३४ सालमा मुखिया पदबाट सरकारी सेवामा कदम राखेका भट्टराई शाखाअधिकृत पदबाट निवृत्त भएका हुन् ।

कुरा २०४२ सालतिरको हो । भट्टराई धरान छाताचोकमा रहेको धरान अस्पतालमा सरुवा भई आएका थिए । अस्पतालको प्रशासनमा खरिदार पदमा कार्यरत रहँदा सोही अस्पतालअगाडि नेपाल बैंक लिमिटेड धरान शाखामा भीड लागेको उनले देखे । उनका एकजना साथीले भट्टराईलाई बोलाए अनि उनी त्यहाँ पुगे । त्यो भीड  ग्रिनलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) को आईपीओ भर्नेको थियो ।

मासिक तलब भट्टराईले करिब ७ सय बुझ्दथे । भर्खरै महिनावरी तलब बुझेका उनले ६ सय रुपैयाँमा १० कित्ता आईपीओ भरे । पछि उनले १० कित्तै हातापनी पारे । ‘त्यतिबेला ६ सय रुपैयाँ दिएर न्यूनतम १० कित्ता आवेदन दिन पाइन्थ्यो’, भट्टराई भन्छन् । त्यसपछि भट्टराईलाई सेयरमा उत्सुकता बढ्दै गयो । सो बैंकबाट लाभांश सुरुमा ३५ रुपैयाँ, दोस्रोपल्ट ६० रुपैयाँ र तेस्रोपटक ८४ रुपैयाँ थापेको उनले सम्झे ।

मनकामना विकास बैंकको आईपीओ भरेयता भट्टराईले आईपीओमा भने लगानी नगरेको बताए । ‘आईपीओ भर्न लाइन बस्न झ्याउ र नपर्ने भएकोले पनि भर्न रुचि जागेन’, भट्टराई भन्छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश लिन उनी सुनसरीको दुहबी पुगे । त्यहाँ सो बैंकको शाखा थियो। त्यहाँका कर्मचारीले उनलाई बडो सम्मानका साथ सोफामा राखेको उनले झलझली सम्झन्छन् । ‘हजुर स्थापनाकर्ता हुनुहुन्छ भन्दै सम्मानका साथ सही गराएर ३५ रुपैयाँ लाभांश दिए’, उनले विगत कोट्याए, ‘एजीएमका किताबका साथमा सो बैंकले लाभांशसमेत पठाइदिन्थ्यो ।’

त्योबेला बैंक खाता खोल्न निकै महँगो भएको प्रसंग कोट्याउँदै भट्टराई बैंक अफ काठमाण्डूमा १५ हजारमा खाता खोलेको रोचक कुरासमेत सुनाउन भ्याए ।

सरकारी जागिरको दौरान भट्टराईले ५० जिल्ला टेक्दै ३० जिल्लामा त बसेर नै काम गरेको अनुभव छ । पूर्वान्चलको १६ वटै जिल्ला, बारा, सिन्धुपाल्चोक, नेपालगन्ज, काठमाण्डौलगायतका स्थानमा उनी जागिरका सिलसिलामा पुगे । जागिरका दौरानमा पनि उनले आईपीओ भर्न भने नचुकेको दाबीसमेत गरे । ‘कतैकतै त आईपीओ भर्नलाई बैंकका शाखा नै नहुने भएकाले घरमा परिवारका सदस्यलाई भर्नु भन्नुपथ्र्याे’, उनले हसिलो अनुहार लगाउँदै भने । उहिले भरेका आईपीओ  भने बेचिसकेको उनको भनाइ छ।

प्रख्यात सेयर खेलाडी जीवन बस्नेत धरान निवासी हुन् । बस्नेत र भट्टराई मिल्ने साथीसमेत रहेछन् । जीवन बस्नेतले सेयर भन्ने चीज राख्ने हो, बेच्दै नबेच्ने तर पैसाको आवश्यकता परेमा मात्रै सेयर बेच्न सल्लाह दिएबमोजिम यही विद्यालाई भट्टराईले अपनाइरहेको दाबी गरे । ‘अहिले पनि आवश्यकता परे बेच्ने अनि पैसा भयो भने सेयरमै लगानी गर्दै आइरहेको छु’, उनले भेन ।

गृह मन्त्रालयमा कार्यरत कर्मचारी साथीहरु ब्रोकर हाउस जाने अनि सेयरकै कुराकानी समेत हुने भएकाले आफूलाई पनि उत्सुकता बढाएको भट्टराईले बताए । ‘म २०५९÷६० सालतिर दोस्रोबजार प्रवेश गरेको हुँ’, उनले भने ।

दोस्रोबजारबाट सुरुमा एसबीआई ४०० रुपैयाँ प्रतिकित्ताका दरले २०० कित्ता र अरूण हाइड्रोपावरको ३१९ रुपैयाँ प्रतिकित्ताका दरले २५० कित्ता सेयर खरिद गरेका भट्टराईले धरानको घरभाडाको पैसा अनि तलबको बचत रकम सेयरमै लगानी गर्न थाले । भट्टराईलाई सेयरको नशा यति चढ्यो कि २०६३÷६४ तिर कृषि विकास बैंकबाट घर बनाउन लिएको होम लोनमध्ये डेढ–दुई लाख रुपैयाँ दोस्रोबजारमा सेयर किन्न ओइराए ।

भट्टराईले १०० रुपैयाँ प्रतिकित्ता किनेर राखेको आईपीओको सेयर २०५६÷५७ तिर १ हजार ६१५ रुपैयाँमा बेच्न भ्याए तर पछि सोही सेयरको ८–९ हजारसम्म मूल्य पुगेको थियो । दोस्रो बजारबाट किनेको सिद्धार्थ बैंकको प्रतिकित्ता ३३५ रुपैयाँलाई प्रतिकित्ता ५०० रुपैयाँका दरले बेची अधिक नाफा गरेको उनको अनुभव छ ।

थोरैथोरै रकमसमेत सेयरमा लगानी गर्न सकिने धारणा राखेका भट्टराई आवश्यकता परेको बेला सहजै गर्जो टार्न र बचत रकमलाई लगानी गर्ने उपयुक्त माध्यम सेयर बजार नै भएको बताउँछन् । ‘जग्गा किन्न लाखौं पैसा चाहिन्छ तर सेयर बजारमा एक हजारमात्रले पनि प्रवेश गर्न सकिन्छ’, उनले प्रष्ट्याए । वियरिस ट्रेन्डमा समेत नेप्से सूचकांकको उतारचढावबाटै मनग्ये पैसा नाफा बनाउन सकिने उनको ठम्याइ छ।

तेत्तीस वर्षदेखि सेयरको लगानीले चाहिँ भट्टराईलाई के दियो भन्ने जिज्ञासामा छोरोलाई अष्ट्रेलिया पठाउन र आवश्कता परेको बखत व्यवहार सहज गर्न सेयर बजारले नै थामिरहेको भट्टराई दाबी गर्छन् ।

ठूल्ठूला लगानीकर्ताको प्रवेश सेयरबजारमा हुँदा मार्केट बढ्ने तिनै ठूलाले हात धोइदिए मार्केट घट्ने भन्ने भट्टराइको छ । सेयर लगानीकै क्रममा नेपालका सेयर बादसाह निर्मल प्रधानसँग पनि भेटेकोमा उनी दंग देखिन्थे।

सेयर अप्ठ्यारोमा परेको बेलामात्र बेची व्यवहार मिलाउँदा आफ्नो अन्य धनसम्पती जोगिने भट्टराईको ठम्याइ छ । सेयर लगानीमा घाटानाफा तुलना गर्न नहुने उनी सुझाउँछ्न्।

लगानी गर्न कुनै कम्पनी स्थापना गर्न पनि नपर्ने र आवश्कता परेको बेला सहजै खरिदबिक्री हुने तरलताको विशेषता भएकै कारण सेयर बजारलाई बचत वा लगानीको उपयुक्त माध्यम ठानिन्छ । जुनसुकै पेसा, तह र तप्कामा आसीन व्यक्ति थोरैमात्र गरेको लगानीले पनि कालान्तरमा फाइदा नै पुगेको बताइन्छ । यसै कारण सेयर बजारमा दीर्घकालीन लगानीलाई सुरक्षित समेत ठान्ने गरिन्छ ।