काठमाण्डौ । कच्चा तेलको उत्पादनलाई कटौति गर्ने मुख्य उद्देश्यले बसेको तेल उत्पादन देशहरुको संगठन ओपेक बैठक बिनानिश्कर्ष सकिएपछि आउँदा दिनमा तेलको मूल्यमा गिरावट आउने संभावना देखिएको छ । 

अष्ट्रियाको राजधानी भियनामा बिहीबार बसेको ओपेक सदस्य राष्ट्रहरुको बैठकमा उत्पादन कटौतिको बिषयमा कुनै सहमति नजुटेको हो । कच्चा तेल उत्पादनको पुरानो नीति परिवर्तनको बिषयमा कुनै सहमति बनेन् । ओपेकको यस्तो फैसलापछि कच्चा तेलको मूल्यमा लगातार गिरावट आउनसक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरुले प्रक्षेपण गरेका छन् । 

ओपेक सदस्य राष्ट्रबीच उत्पादन कटौतिको बिषयमा चर्काचर्की परेको थियो । कुवेत र कतार उत्पादन कटौतिमा सहमत देखिए पनि इरान यो प्रस्तावप्रति नकारात्मक देखियो भने नाइजेरियाले थप छलफल आवश्यक भन्दै अनिच्छा देखायो । यसअघि अप्रिलमा दोहामा भएको बैठकमा समेत उत्पादन कटौतिको बिषयमा सदस्य राष्ट्रबीच कुनै सहमति बन्न सकेको थिएन । 

स्रोतका अनुसार इरानको मुख्य असहमतिका कारण उत्पादन कटौतिको बिषयमा ओपेक बैठकले ठोस निश्कर्ष निकाल्न नसकेको हो । इरानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध जनवरीमा हटेको थियो । इरान चाहन्छ कि उसको कच्चा तेलको निर्यात जबसम्म प्रतिबन्ध लाग्नुभन्दा पहिलाको अवस्थामा पुग्दैन, तबसम्म तेल उत्पादनको कटौतिका लागि उसले सहमति दिने छैन । इरानका तेल मन्त्री बिजान नामदारले बुधबार नै संचारमाध्यमहरुलाई भनेका थिए कि उत्पादन कटौति गरेर उनको देशलाई कुनै फाइदा हुनेवाला छैन । 
बिजशाला / एजेन्सी