काठमाण्डौ । चीनमा कोभिडको नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। जसका कारण काम ठप्प भएको र यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिन थालेको छ। 

चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। त्यहाँ भएको प्रदर्शनका कारण कच्चा तेलको आपूर्ति प्रभावित भएको छ। जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ। 

हिजो ब्रेन्ट क्रुडको भाउ २.४३ डलर अर्थात २.९ प्रतिशतले घटेर ८१.२० डलर प्रतिब्यारेलमा झरेको थियो । डब्ल्यूटीआई ७१ डलरमा झरेको थियो । यसरी कच्चा तेल १० महिनाकै न्यून विन्दुमा झरेको छ। 

कच्चा तेलको भाउ कति घट्न सक्छ ?

निसान सेक्युरिटिजका महाप्रबन्धक (रिसर्च) हिरोयुकी किकुकावाले भने, ‘चीनमा बढ्दो कोभिड संक्रमण नियन्त्रण गर्न जारी कडा प्रतिबन्धले इन्धनको मागलाई असर गरेको छ। यसले डब्ल्यूटीआईको ट्रेडिङ रेन्ज ७० देखि ७५ डलरसम्म घट्ने अपेक्षा गरिएको छ।’
तेल उत्पादनसम्बन्धी ओपेक राष्ट्रहरुको आगामी बैठकको नतिजा र अमेरिकालगायत जी७ देशले रुसी तेलको मूल्य निर्धारण गरेमा बजारमा कच्चा तेलको भाउ अस्थिर रहन सक्छ ।

तेल बजारमा मन्दी

चीन राष्ट्रपति सी जिनपिङ शून्य–कोभिड नीतिमा अडिग छन्। जब कि विश्वका अधिकांश देशहरुले प्रतिबन्धहरु हटाइसकेका छन्। 
कोभिडको कडा प्रतिबन्धविरुद्ध चीनका सडकमा प्रदर्शन भइरहेका छन् । आइतबार राति सांघाईमा सयौँ प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । एमोरी फन्ड म्यानेजमेन्ट इंकका सीईओ टेत्सु इमोरीले भने, ‘चीनमा बढ्दो मागको चिन्ता र तेल उत्पादकहरुबाट स्पष्ट संकेतको अभावका कारण तेल बजारमा मन्दीको सम्भावना देखा परेको छ।’

डिसेम्बर ४ मा बस्दैछ बैठक

टेत्सु एमोरीले ओपेक प्लस उत्पादन कोटामा थप कटौतीमा सहमत नभएसम्म वा अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारहरू पुनः लोड गर्न चालेन भने तेलको मूल्य अझै घट्न सक्छ। पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र रुसलगायतका सहयोगीहरु जसलाई अपेक प्लस भनिन्छ। उनीहरुको बैठक डिसेम्बर ४ मा बस्दैछ । गत अक्टोबरमा ओपेक प्लस आफ्नो उत्पादन लक्ष्यलाई २०२३ सम्म प्रतिदिन २ मिलियन ब्यारेलले कटौती गर्न सहमत भएको थियो। 

रुसी तेलको मूल्यमा प्राइस क्याप

ग्रुप अफ सेभेन (जी७) र युरोपेली युनियनले रुसी तेलमा प्रतिब्यारेल ६५ देखि ७० डलरको मूल्य निर्धारण गर्नेबारे विचार गरिरहेका छन्। युक्रेनमा भएको आक्रमणपछि पश्चिमी देशहरुले रुसमाथि विभिन्न किसिमले प्रतिबन्ध लगाएका छन् । यी देशले रुसलाई आफ्नो तेलको बजारमा प्राइस क्याप लगाएर आर्थिक रुपमा कमजोर बनाउन खोजिरहेका छन्।

प्राइस क्याप भनेको के हो?

युक्रेनसँगको युद्धका कारण रुसले धेरै आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । यी प्रतिबन्धमध्ये अधिकांश अमेरिकालगायत पश्चिमी देशहरुले लगाएका छन्। प्राइस क्याप आर्थिक प्रतिबन्धको एउटा अंश हो। यसअन्तर्गत जी७ मा समावेश देशहरुले रुसी तेलको मूल्य निर्धारण गर्नेछ। अहिले रुसले आफ्नै मूल्यमा तेल बेचिरहेको छ। –एजेन्सी