काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका तेश्रो व्यक्ति कतराबाट केही दिनअघि स्वदेश फर्किएका खुलेको छ । 

ती व्यक्ति चैत ६ गते कतारबाट एयर अरेबियाको फ्लाइटबाट नेपाल आएका खुलेको हो । 

ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै जहाजमा यात्रा गर्नेहरुको समेत सरकारले खोजी सुरु गरेको छ । 

सरकारले तेश्रो संक्रमित व्यक्ति धादिंगका ३२ वर्षीय पुरुष रहेको बताएको छ । उनको टेकू अस्पतालमा उपचार भइरहेको छ।

कतारबाट फर्किएका ती व्यक्तिको स्वाब परीक्षणको क्रममा मंगलबार नै कोरोना संक्रमण देखिएको रिपोर्ट आए पनि बुधबार मात्र सार्वजनिक भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

तीनजनाको रिपोर्ट पोजेटिभ आएको छ । धेरै अघि नै चीनबाट आएका एक विद्यार्थीमा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनी स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन् । 

गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा समेत संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएका ती युवती र कतारबाट आएका युवकलाई टेकूमै आइसोलेसनमा राखेर उपचार जारी राखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।