काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको नौ महिनामै १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। यो अवधिमा १ अर्ब बढी नाफा आर्जन गर्ने विकास बैंकहरुमा मुक्तिनाथ पहिलो बन्न सफल भएको छ। 

आज सार्वजनिक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार मुक्तिनाथले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष बैंकले १ अर्ब ५६ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५४ करोड ७२ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा २.६६ प्रतिशतले बढेर १ अर्ब ४६ करोड रुपैयाँ भएको छ। गत वर्षको यही अवधिसम्म बैंकलाई यस्तो मुनाफा १ अर्ब ४२ करोड रुपैयाँ भएको थियो। 

बैंकको खुद ब्याज आम्दानी पनि २६.७९ प्रतिशतले बढेर २ अर्ब ४० करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ८९ करोड रुपैयाँ भएको थियो। 

समीक्षा अवधिसम्म बैंकको रिटेन अर्निङ ३८.२६ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा रिटेन अर्निङ ८९ करोड ६३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर ५५ करोड ३४ लाख रुपैयाँमा सीमित बनेको छ। 

समीक्षा अवधिमा बैंकले ९९ अर्ब १ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ८७ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८६ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ९१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

बैंकको खराब कर्जा अनुपात (एनपीएल) ०.२१ प्रतिशतबाट घटेर ०.१७ प्रतिशतमा झरेको छ। कस्ट अफ फन्ड ८.५४ प्रतिशत रहेको बैंकको सीडी रेसियो ८६.५१ प्रतिशत र आधार दर १०.५५ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेको छ। गत वर्ष यही अवधिसम्म २३.७० रुपैयाँ रहेको ईपीएस बढेर २४.०६ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १३७.४१ र पीई अनुपात १९.९४ गुणा कायम भएको छ।