काठमाण्डौ । कम्पनी रजिस्ट्रारको कार्यालय तोकिएको समयमा विवरण पेस नगर्ने कम्पनीका सञ्चालक वा पदाधिकारीले जरिवाना तिर्नुपर्ने स्पष्ट पारेको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयले बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्सलाई पत्र पठाउँदै यस्तो स्पष्ट पारेको हो।
कम्पनी ऐन, २०६३ को दफा ८१(२) को व्यवस्था वमोजिम कम्पनीले कार्यालयलाई तोकिएको समयमा विवरण, सूचना, जानकारी वा जवाफ उपलब्ध नगराएको अवस्थामा जरिवाना आकर्षित हुने र उक्त जरिवाना भुक्तानी गर्ने दायित्व कम्पनीका सञ्चालक वा त्यसका पदाधिकारीमा रहने व्यवस्था गरेको छ। ‘तर, कार्य सञ्चालनका क्रममा भने यस्तो जरिवाना कम्पनीको सञ्चालक वा पदाधिकारीले वहन नगरी कम्पनीका तर्फबाट व्यहोरिएको हुनसक्ने देखिएको छ’, पत्रमा भनिएको छ, ‘ऐनको उपरोक्त व्यवस्थाविपरीत कम्पनीले जरिवाना रकम व्यहोरेको हुन सक्ने भएको हुँदा लेखापरीक्षकहरुसमेत यस विषयप्रति चनाखो हुन आवश्यक देखिएको छ।’
अतः लेखापरीक्षकहरुले लेखापरीक्षणका क्रममा यस्तो जरिवाना रकम कम्पनीले व्यहोरेको पाएमा प्रचलित कानुन तथा नेपाल लेखापरीक्षणमानबमोजिम यथोचित सम्वोधन गर्न आवश्यक भएको व्यहोराप्रति त्यस संस्थाबाट अनुमति प्राप्त सम्पूर्ण लेखापरीक्षकहरुलाई सजग गराइदिन कम्पनी रजिस्ट्राको कार्यालय आग्रह गरेको छ।
कम्पनी ऐन, २०६३ ले सो ऐनबमोजिम स्थापित हुने कम्पनीहरुलाई कानुनी व्यक्तिको मान्यता दिएको र कम्पनीलाई आफ्नो उद्देश्य प्राप्तिका लागि प्रचलित कानुनको रीत पुर्याई पेसा, व्यवसाय वा उद्यम गर्ने स्वतन्त्रता दिएको कुरा विदित रहेको पत्रमा उल्लेख छ। कम्पनीको उद्देश्य प्राप्तिका लागि कम्पनीका तर्फबाट सञ्चालन गरिने क्रियाकलापका कारणले सिर्जना हुने दायित्वको विषयमा प्रचलित कानुनमा कम्पनी उत्तरदायी हुने व्यवस्था रहेको भए पनि कम्पनी स्वयंको सञ्चालन तथा व्यवस्थापनको विषयमा कम्पनीका सञ्चालक तथा पदाधिकारी नै उत्तरदायी रहने व्यवस्था उक्त ऐनले गरेको छ।
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago