– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडतोडले लघुवित्त संस्थाविरुद्ध आवाज उठिरहेको छ। 

राजधानी काठमाण्डौकेन्द्रित विभिन्न आन्दोलन पनि भइरहेका छन्। लघुवित्त संघर्ष समिति, विभिन्न राजनीतिक व्यक्ति, लघुवित्तका सदस्यहरु नै लघुवित्तले ज्यादती गरेको भन्दै लघुवित्त संस्था खारेज गरिनुपर्ने, कर्जा नतिर्ने अभियानमा लागेका छन्। 

लघुवित्तले आफूहरुलाई ऋण तिर्न नसक्ने अवस्थामा पुर्याएको तथा उठीबास लगाएको भन्दै ऋणीहरु आक्रोशित भएका हुन्। लघुवित्तले नै जबर्जस्ती समूहमा बसाइ कर्जा लिन बाध्य बनाएको र त्यो कर्जा तिर्न पनि थप ऋण दिएर कर्जाको भार बढाइदिएको भन्दै देशभरका ऋणी तथा बचतकर्ताहरुको आरोप छ। 

कर्जा तिर्ने अवस्था नहुँदा पनि लघुवित्तका कर्मचारीहरुले संस्थाले दिएको टार्गेट पूरा गर्न आफूहरुलाई चरम यातना दिएको सदस्यहरुकोे आरोप छ। सोही कारण अहिले कतिपय ऋणीहरुले घर छाडिसकेको अवस्था छ भने कतिपयले बचत गरेको पैसा माग्दा पनि नदिने र जति रकम बुझाए पनि ऋणको भार कहिल्यै नघट्ने उल्लो बढेको भन्दै केही स्थानका ग्राहकले बचत, कर्जाको किस्ता, ब्याज नै बुझाउन छाडेर अभियानमा लागेका छन्।

यसो त विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलाहरुलाई सदस्य बनाई तिनीहरुबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न विना धितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्नो सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरुको बचत संकलन गर्ने संस्था हुन्, लघुवित्त।

त्यसकारण यसमा ठूलो संख्यामा ग्रामीण क्षेत्रका महिलाहरु प्रत्यक्ष रुपमा जोडिएका छन्। तर, नेपाल राष्ट्र बैंकको नियमविपरीत एउटै व्यक्तिलाई थुप्रै लघुवित्तले कर्र्जा दिँदा र ऋणीले पनि रकम प्रयोजनभन्दा अन्यत्र खर्र्च गर्दा अहिले परिस्थति आएको देखिन्छ। अर्को राष्ट्र बैंकको नीतिनियम पनि फितलो रहेकाले लघुवित्तको क्षेत्रमा यस्तो समस्या आएको देखिन्छ।

आक्रोशित ऋणी तथा सदस्यहरुले विभिन्न व्यक्तिको अगुवाइमा लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्ने, कुटपिट गर्ने, बस्तीमै प्रवेश गर्न नदिने, दुव्र्यहार गर्नेलगायतका अभियान चलाएका छन्। जसका कारण अहिलेको अवस्थामा फिल्डमा काम गर्ने लघुवित्तका कर्मचारीहरुलाई जोखिम मोल्नुपरेको छ। यतिमात्रै होइन संस्थाको टार्गेट र सदस्यहरु तथा ऋणीले गरेको व्यवहारका कारण कतिपय कर्मचारीहरु राजीनामा दिइरहेका छन्।

पछिल्लो तथ्यां अनुसार लघुवित्त संस्थाहरुमा २३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने कुल सदस्यको संख्या ५९ लाख ८८ हजार छ। यस्तै ३२ लाख ६० हजार ऋणी छन्। 

यीमध्ये अधिकांशजसो ऋणी नै लघुवित्तप्रति आक्रोशित रहेकाले बचत, कर्जाको किस्ता तथा साँवा उठाउनका लागि लघुवित्तका कर्मचारी वस्तीमा जानबाट हच्किएका छन्। लघुवित्तकर्मीहरुनै अहिले कर्मचारीलाई फिल्डमा जानका लागि डराउनुपर्ने अवस्था रहेको बताउँछन्।

उपकार लघुवित्तकी सीईओ शारदाकुमारी खत्री अहिलेको समयमा कर्मचारीहरुलाई फिल्डमा गएर काम गर्न पक्कै पनि ग्राहो परिस्थित भएको बताउँछिन्। ‘राजनीतिक दलका व्यक्तिहरुले कर्जा मिनाहा हुन्छ भनेर सदस्यहरुलाई प्रलोभन पारेर आन्दोलन गरिरहेको अवस्था छ, लघुवित्तका कर्मचारीलाई पैसा नदिनु, अभद्र व्यवहार गर्नु, कुटपिट गर्नु भन्नेलगायतका कुराहरु सिकाइएको छ’, उनले भनिन् ‘सदस्यले अहिलेसम्म कर्मचारीलाई त्यसतो व्यवहार गर्नुभएको त छैन तर पनि कर्मचारीलाई फिल्डमा जान एक किसिमको त्रास नै छ।’

सीईओ खत्रीले पुराना कर्मचारीभन्दा पनि नयाँ कर्मचारीलाई आन्दोलनकै कारण फिल्डमा जान कठिन रहेको बताइन्। ‘विभिन्न संघर्षका नाममा कर्मचारीलाई ज्यानको माया छ कि छैन भन्दै तर्साने खालको कुरा आउँदा कर्मचारीमा त्रसित हुने अवस्था छ’, उनले भनिन्।

यस्तै जीवन विकास लघुवित्तका सीईओ सञ्जयकुमार मण्डल पनि बाहिरी वातावरणका कारण लघुवित्तका कर्मचारीहरुलाई काम गर्न जोखिम बढेको बताउँछन्। ‘बाहिरबाट थ्रेटका कुराहरु सुन्दा स्वभाविक रुपमा मान्छेमा त्रास हुन्छ, त्यसले कर्मचारीको मनोबलमा समस्या आएको देखिएको छ’, उनले भने ‘ठाउँ–ठाउँमा लघुवित्तका कर्मचारीमाथि अभद्र व्यवहार भएको सुनिन्छ, त्यसकारण कर्मचारीलाई काम गर्न चाहिँ ग्राहो अवस्था छ।’