काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबारदेखि बन्द आयातनिर्यात कार्य सोमबारदेखि सुचारु हुने भएको छ । 

नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आइतबार गएको व्यवसायीहरुको टोलीसँंग संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले व्यवसायीहरुसँंग भएको सहमतिअनुसार बन्द आयातनिर्यात कार्यलाई सुचारु गर्ने विश्वास दिलाएका हुन् ।

चेम्बर टोलीसँंग मन्त्री अधिकारीले निजी क्षेत्रको सुझाव प्रतिवेदनलाई समेटी समय सापेक्ष सुधार गरी जाने विश्वास दिलाए । 

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल नेपाल नागरिक उड्डयन कार्यालयको स्वामित्वमा रही नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट संचालित एअर कार्गो बिल्डीङबाट आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रवन्धशुल्क बृद्धि गरिएपछि व्यवसायीहरुले विरोधस्वरुप चैत १ गते विहीबारदेखि आयातनिर्यात ठप्प पार्दै आएका थिए । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीबाट २०७४ चैत्र १ गते देखि लागू हुने गरी सूचना जारी गरी शुल्क बृद्धि गरिएको थियो । 

नेपाल चेम्वर अफ कमर्सबाट बिगतमा सरोकारवाला सवै निकायहरुको छलफल गरी निजी क्षेत्रको सुझाव तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमक्ष र यस सम्वन्धमा गठित कार्गो प्रवन्ध सेवा दस्तुर सम्वन्धी उपसमितिका संयोजकलाई सुझावहरु प्रस्तुत गरे अनुसार शुल्क कायम गर्ने मौखिक सहमति भएको छ ।